सिन्धुपाल्चोक । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माधव सापकोटा ‘सुबोध’ले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार सापकोटाले पत्रकार सम्मेलनमार्फत आफ्नो भावी योजना र कार्यदिशा सार्वजनिक गरेका हुन्।
सापकोटाले आफ्नो ३३ महिनाको संसदीय कार्यकालमा किसान, युवा, विद्यार्थी तथा स्थानीय सरोकारका विषय संसदमा निरन्तर उठाएको दाबी गरे। उनले ‘विद्यालयमा सांसद, संसदमा विद्यार्थी’ अभियानमार्फत सयौँ विद्यार्थीलाई संसदीय प्रक्रियामा सहभागी गराउँदै लोकतान्त्रिक अभ्याससँग जोड्ने प्रयास गरेको उल्लेख गरे।

उनका अनुसार नेपाल–चीन व्यापारिक नाका तातोपानी नाका पुनः सञ्चालनका लागि पहल गरिएको, अरनिको राजमार्ग स्तरोन्नतिका काम अघि बढाइएको तथा जुरे पहिरो पीडितका नाममा संकलित रकम वितरणका लागि निरन्तर दबाब सिर्जना गरिएको छ। साथै, ३३ महिनाको अवधिमा निर्वाचन क्षेत्रमा ७ अर्ब रुपैयाँभन्दा बढी बजेट भित्र्याइएको उनले दाबी गरे।
प्रतिबद्धता पत्रमा ‘जीवन्त संसद निर्माण’ र गुणस्तरीय कानुन निर्माणलाई प्राथमिकतामा राखिएको छ। पर्यटन तथा भौतिक पूर्वाधार विकास, काठमाडौंबाट जुगल हिमाल एकै दिन पुग्ने पूर्वाधार निर्माण, मल–बीउ र बजारको ग्यारेन्टीसहित कृषिमा आधारित आर्थिक कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको छ।
यसैगरी, सीपमूलक प्लस टु शिक्षा प्रणाली, युवा रोजगारी सिर्जना, ‘डिजिटल सिन्धुपाल्चोक’ अभियान, सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति, विपद् व्यवस्थापन सुदृढीकरण, सामाजिक न्याय र समावेशिता, जलस्रोत तथा ऊर्जा विकास तथा विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न कानुनी पहल गर्ने प्रतिबद्धता पनि पत्रमा समेटिएको छ।














