सिन्धुपाल्चोकका काकाकुल बस्तीहरूको तिर्खा मेटाएर ‘पानी अभियन्ता’को छवि बनाएका पराजुली अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्। सामाजिक क्षेत्रमा साढे दुई दशकभन्दा बढी समय बिताएका उनी ‘राजनीतिलाई सेवा’ बनाउने संकल्पसहित चुनावी मैदानमा उत्रिएका हुन्।
२०५५ सालअघि सिन्धुपाल्चोकका धेरै गाउँहरूमा पिउने पानीको हाहाकार थियो। स्थानीयहरू घण्टौँको ओरालो-उकालो गर्दै खोलाबाट पानी बोकेर जीवन धान्न विवश थिए। सरकारी संयन्त्रहरूले बजेट र पहुँचको अभावमा हात उठाइसकेको अवस्थामा पराजुलीले जनस्तरबाटै अभियानको सुरुवात गरे।

२०५५ सालमा साविकको मांखा गाविसको जोगीडाँडाबाट सुरु भएको उनको खानेपानी अभियानले ६० भन्दा बढी घरधुरीमा पहिलोपटक धारा पुर्याएको थियो। त्यसपछि मान्द्रा, जोगीडाँडा, पिस्करको जलजले, धुस्कुन, थुम्पाखर, चिलाउने, धुस्कोट, सिक्रे-मार्मिङ, नागपुजे र सिम्ले लगायतका दर्जनौँ सुक्खा बस्तीहरूमा उनले पानी पुर्याएर स्थानीयको जीवनस्तर नै बदलिदिए।
पानी अभियानमा सफलता पाएपछि पराजुलीले आफ्नो सक्रियता जलविद्युत र आर्थिक सशक्तिकरणतर्फ मोडे। हाल उनी बलेफी करिडोर र जलबिरे खोलामा निर्माणाधीन विभिन्न जलविद्युत आयोजनाहरूमा संलग्न छन्।
विशेषगरी, जुगल गाउँपालिका-२ मा निर्माणाधीन ४५ मेगावाट क्षमताको आयोजनाले स्थानीय स्तरमा उल्लेख्य प्रभाव पारेको छ। उक्त आयोजनाले हाल करिब २०० जना स्थानीयलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ, जसले गाउँको युवा शक्तिलाई वैदेशिक रोजगारीको विकल्प दिएको छ।
पराजुलीको राजनीतिक पृष्ठभूमि नेकपा एमालेसँग जोडिए पनि उनी सधैँ पार्टीगत लाभभन्दा सामाजिक काममा बढी केन्द्रित रहे। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गठन भएपछि वैकल्पिक राजनीतिको लहरमा उनी समाहित भएका हुन्।
“मैले व्यवसायलाई संस्थागत गरिसकेको छु, मलाई पदको लोभ छैन। राजनीतिलाई व्यवसाय बनाउनेहरूको बीचमा सेवाको भावना स्थापित गर्न र स्थानीयलाई उद्यमशील बनाउन मेरो उम्मेदवारी हो,” पराजुली बताउँछन्।
सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ का जनताका लागि पराजुली परिचित अनुहार हुन्। दशकौँअघि पिउने पानीको संकट टार्न उनले गरेको संघर्षलाई स्थानीयले अझै बिर्सिएका छैनन्। ‘हिजो हाम्रो प्यास मेटाउने हातलाई आज हामी साथ दिन्छौँ’ भन्ने उत्साहजनक प्रतिक्रियाहरू गाउँमा सुनिन थालेका छन्।
तर, सामाजिक सेवाको विरासतलाई राजनीतिक मतमा बदल्नु र पुराना राजनीतिक शक्तिहरूलाई चुनौती दिनु पराजुलीका लागि कति सहज होला? यसको छिनोफानो भने मतदानको दिन मतदाताहरूले नै गर्नेछन्।






