सुसंस्कृत समाजसहित देश बनाउँछौं भन्नेहरूका अभिव्यक्ति विद्वेषपूर्ण हुन थालेका छन्।फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको प्रचार–प्रसार सुरू भइसकेको छैन। तर उम्मेदवार बनेका शीर्षस्थहरू समेत आफ्ना प्रतिस्पर्धीको अनुहारमा हिलो छ्याप्न गालीगलौजयुक्त भाषाको सहारा लिन थालेका छन्।
प्रतिस्पर्धीप्रति असहिष्णु र आक्रामक बन्दै गर्दा नेताहरूका अभिव्यक्ति व्यक्ति लक्षित मात्र होइन, समुदाय लक्षित पनि हुन थालेका छन्।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेतका पछिल्लो अभिव्यक्तिले मधेसी समुदायको भावनामा चोट पुर्यायो, जसको आलोचना पार्टीभित्रैबाट भयो। सचिव बस्नेतले आफ्नो अभिव्यक्तिप्रति क्षमायाचना गरिसकेका छन् भने अध्यक्ष ओलीले गल्ती महसुससम्म गरेका छैनन्। उनले थप टिप्पणी गर्न पनि छाडेका छैनन्।

आफ्नो बोलीमा नश्लवादी टिप्पणी लोकतन्त्रमा सर्वथा वर्जित कुरा हो। तर ओलीले बिनासंकोच यस्तो अभिव्यक्ति दिइरहेका छन्।
गत माघ ५ गते बालेन शाह मधेस झरे। काठमाडौं महानगरपालिकाको प्रमुखबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ नेता ग्रहण गरेका बालेनले भोलिपल्ट जनकपुर पुगेर सभापति रवि लामिछानेसँग मञ्च सेयर गरेका थिए।
पहिलो पटक राजनीतिक भाषण गरेका बालेनले ‘मधेसीया छौरा’ प्रधानमन्त्री प्रधानमन्त्री बन्न लागेकाले भोट दिनुपर्छ भन्ने ठान्नुभएको हो भन्दै आमसभामा सहभागीहरूलाई सोधेका थिए।
‘आइ एगो मधेसीया छौरा प्रधानमन्त्री बनेला है, वैला… वैला…! आइ एगो मधेसीया पिएम बनेवाला हे, वैला घन्टीमे भोट नै रहे के … सही लोग आउनेवाला हे, वैला घन्टीमे भोट रहे के!’ मैथिलीमा सम्बोधन गरेका बालेनले भनेका थिए।
बालेनले भनेको ‘मधेसीया छौरा’ को अर्थ मधेसी छोराछोरी भन्ने हुन्छ।
तर एमाले सचिव महेश बस्नेतले अर्थको अनर्थ हुने गरी टिप्पणी गरे। उनले बालेनले आफ्नो सम्बोधनमा मधेसी समुदायलाई ‘छाउरा’ भनेको भन्दै शब्द बंग्याए। अर्थ बदल्ने कोसिस गरे।
‘म किन भन्नु छाउराको अर्थ के हुन्छ? आफै भन्नुस् न,’ उनले भनेका थिए।
यसप्रति एमालेभित्रै मधेसबाट प्रतिनिधित्व गर्ने नेताहरूले कडा आलोचना, निन्दा र भर्त्सना नै गरे।
पूर्वकेन्द्रीय सदस्य अरबिन्द सिंहले ‘महेश बस्नेतले भाषा सुधारून्, नत्र मधेसमा एमालेले त्यसको मूल्य चुकाउनुपर्छ’ भन्दै टिप्पणी गरेका थिए।
एमाले उपमहासचिव रघुवीर महासेठले सचिव बस्नेतले आफ्नो अभिव्यक्तिप्रति क्षमायाचना गर्नुपर्ने बताएका थिए। नेता जुली महतोले बस्नेतको अभिव्यक्तिप्रति आपत्ति जनाएकी थिइन्। महतो आफै अहिले धनुषा–३ बाट उम्मेदवार छिन्।






