काठमाडौँ महानगरपालिकाका प्रमुखबाट बालेन्द्र शाह (बालेन)ले राजीनामा दिएर प्रतिनिधिसभाको निर्वाचनमा होमिएसँगै काठमाडौँमा नयाँ विषयले चर्चा पायो ।
महानगरपालिकाले बालेन जाने बित्तिकै सार्वजनिक स्थानबाट कुर्सी हटाउन थाल्यो भन्ने हल्ला चल्यो । सामाजिक सञ्जालमा महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलको आलोचना समेत हुन थालेको छ । तर वास्तविकता भने फरक पाइएको छ । यस विषयमा महानगरपालिकाको सार्वजनिक निर्माण विभागले जवाफ समेत दिएको छ ।

महानगरले सडक किनारा, पार्क, नदीहरुको करिडोरमा पैदल यात्रीलाई बस्नका लागि सार्वजनिक कुर्सी व्यवस्थापनको काम थालेको विभागले जनाएको छ । यस क्रममा पुराना र जीर्ण भएकालाई मर्मत, सम्भार र रंगरोगन गर्ने, यात्रुको चाप भएको ठाउँमा संख्या थप्ने, एक ठाउँमा एकै प्रकारका कुर्सी राखेर एकरुपता कायम गराउने, आकर्षक र प्रयोगमैत्री बनाइने महानगरको दाबी छ ।
सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राई भन्छन्, ‘उमेर समूह, शारीरिक अवस्था जस्ता पैदल यात्रुको आवश्यकतालाई सहजता बढाउने काम थालेका छौँ । यसअघि राखिएका ठाउँबाट कुर्सी हटाउने कुनै योजना छैन । एकरुपता कायम गराउन साटफेर हुनसक्छ
यस ठाउँमा दुई प्रकारका कुर्सी थिए । यीमध्ये पुराना बेञ्च मर्मतसम्भार र रंगरोगन गरेर यथास्थानमा राखिने विभागका प्रमुख राईले जानकारी दिए । यसअघि राखिएका ठाउँबाट कुर्सी यताउता सार्ने गरिएको थियो । यसलाई पनि व्यवस्थापन गर्ने गरी काम गरिने उनको भनाइ छ ।
महानगरपालिकाका सार्वजनिक निर्माण विभाग र उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनाले सार्वजनिक कुर्सी व्यवस्थापनको काम गरिरहेका छन् ।






