काभ्रेपलाञ्चोकबाट विगत २५ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको नव क्षितिज साप्ताहिक नेपाल डेरी एसोसिएसनद्वारा संस्थागत रूपमा सम्मानित भएको छ। एसोसिएसनको बुधबार काठमाडौंको शंखुस्थित रैथाने रिसोर्टमा सम्पन्न २८औँ वार्षिक साधारण सभा, स्थापना दिवस तथा ९औँ केन्द्रीय अधिवेशनको अवसरमा उक्त सम्मान प्रदान गरिएको हो।
सम्मान पत्र बागमती प्रदेशका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल तथा उद्योग वाणिज्य संघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण बैद्यलगायतले नव क्षितिज साप्ताहिकका प्रकाशक तथा प्रधान सम्पादक नवराज बजगाईंलाई हस्तान्तरण गरे।

ग्रामीण पत्रकारितालाई मूल मन्त्र बनाएर सत्य, तथ्य र निष्पक्ष समाचार प्रवाह गर्दै आएको नव क्षितिज साप्ताहिकले कृषि डायरी र पशु स्वास्थ्य डायरीजस्ता नियमित स्तम्भमार्फत कृषि तथा डेरी क्षेत्रका विषयवस्तुलाई प्राथमिकताका साथ प्रकाशन गर्दै आएको योगदानको उच्च कदर गर्दै एसोसिएसनले सम्मान अर्पण गरेको हो। साथै, यस क्षेत्रका विज्ञहरूको विचार, सन्देश र जानकारीलाई दुरदराजसम्म पुर्याउन पत्रिकाले खेलेको भूमिकालाई समेत प्रशंसा गरिएको छ।
प्रेस काउन्सिल नेपालको वर्गीकरणमा निरन्तर “क” वर्गमा सूचीकृत नव क्षितिज साप्ताहिकले काभ्रे मात्र नभई देशभरका कला, साहित्य, संस्कृति, धर्म, पर्यटन, ऐतिहासिक सम्पदा, अल्पसंख्यक तथा विपन्न समुदायका सवाललाई उजागर गर्दै आएको उल्लेख सम्मान पत्रमा गरिएको छ।
रजत वर्ष मनाइरहेको पत्रिकाले यस वर्षभर विविध सामाजिक तथा पत्रकारितासम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ। २०८२ वैशाख ८ गते धुलिखेल–११ स्थित दूषित थानी रिसोर्टमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले रजत वर्षको औपचारिक शुभारम्भ गरेका थिए।
सम्मानपछि प्रतिक्रिया दिँदै नव क्षितिज साप्ताहिकका सह–सम्पादक अरबिन्द्र गौतमले नेपाल डेरी एसोसिएसनबाट प्राप्त संस्थागत सम्मानले पत्रिका परिवारलाई थप जिम्मेवारी र हौसला प्रदान गरेको बताए। सो अवसरमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका पूर्व अध्यक्ष मोतिराम तिमल्सिनालगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो।
नेपाल डेरी एसोसिएसनले सम्मान पत्रमार्फत राष्ट्रको समग्र विकास तथा कृषि, पशु र डेरी क्षेत्रको प्रवर्द्धनमा यथार्थपरक पत्रकारिता गर्दै “आवाजविहीनको आवाज” बन्न निरन्तर अग्रसर रहन शुभकामनासमेत व्यक्त गरेको छ।






