सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–९, कोदारीका रामकुमार पहरीका दुई सन्तान रिजन पहरी र रिया पहरीको जन्म दर्ता चार वर्षपछि सामाजिक अभियन्ताहरूको सक्रिय पहलमा सम्पन्न भएको छ।
जन्म दर्ता नहुँदा बालबालिकालाई विद्यालय भर्ना गर्न गम्भीर समस्या हुँदै आएको थियो। अस्पतालमा जन्म भएको प्रमाण (जन्म कार्ड), खोप कार्ड तथा बाबुको नागरिकता हुँदाहुँदै पनि वडा कार्यालयले आमाको जन्म दर्ता वा नागरिकता अनिवार्य रूपमा पेश गर्नुपर्ने भन्दै प्रक्रिया अघि बढाउन अस्वीकार गर्दै आएको पीडित परिवारले बताएका छन्। वडाध्यक्षले आमाको घर ठेगाना नखुलेको कारण देखाउँदै जन्म दर्ता रोकिएको जनाइएको छ।

समस्या समाधानका लागि सहायक प्रमुख जिल्ला अधिकारीले फोनमार्फत वडा कार्यालयलाई आवश्यक प्रक्रिया मिलाउन निर्देशन दिए पनि त्यसलाई बेवास्ता गरिएको परिवारको गुनासो छ। जिल्ला प्रशासन कार्यालयको मौखिक निर्देशनसमेत कार्यान्वयन नभएपछि सामाजिक अभियन्ता सम्शेर क्षेत्री र हरिचन्द्र भारती यस विषयमा सक्रिय बनेका थिए।
सामाजिक अभियन्ता सम्शेर क्षेत्रीले पाँच जना स्थानीय छरछिमेकीलाई साथमा लिएर सवारी साधन रिजर्भ गरी वडा कार्यालय पुगेर प्रत्यक्ष पहल गरेपछि अन्ततः दुवै बालबालिकाको जन्म दर्ता गरिएको हो।
यस घटनाले स्थानीय सरकारको सेवा प्रवाहमा देखिएको पहुँच अभाव, प्रक्रियागत जटिलता तथा संवेदनशीलताको कमी उजागर गरेको छ। साथै, स्थानीय तह अझ जनमैत्री, उत्तरदायी र बालअधिकारमैत्री बन्नुपर्ने आवश्यकता रहेको देखिएको छ।












