अरनिको राजमार्ग अन्तर्गत चेहेरे नजिकै सडक फराकिलो बनाउने क्रममा एक समूहले निर्माण व्यवसायीमाथि हातपात गरेपछि स्थिति तनावग्रस्त बनेको छ। भिर कटानको समयमा सुरक्षाका कारण सडक अवरुद्ध गरिएको विषयलाई लिएर भएको विवादले उग्र रूप लिँदा व्यवसायी र आक्रमणकारी दुवै पक्ष घाइते भएका छन्।
सडक फराकिलो बनाउन भिर कटान भइरहेको क्षेत्रमा जनसुरक्षालाई ध्यानमा राख्दै निर्माण पक्षले पटक–पटक २० देखि ३० मिनेट सवारी आवागमन रोक्ने गरेको थियो। सोही क्रममा सडक अवरुद्ध गरिएको विषयलाई लिएर एक व्यक्तिले “किन बाटो रोकेको” भन्दै निर्माण कार्यमा खटिएका व्यवसायीहरू सुनिल श्रेष्ठ र नारायण श्रेष्ठमाथि एक्कासि हातपात गरेका थिए।

पीडित पक्षका अनुसार, ‘चाइनिज डन’ भनी चिनिने ती व्यक्तिले कार्यक्षेत्रमै पुगेर निर्माण व्यवसायीमाथि कुटपिट गरेपछि स्थिति बिग्रिएको थियो। घटनालाई नियन्त्रणमा लिन खोज्दा ती व्यक्तिले खटिएका प्रहरी टोलीमाथि समेत अभद्र व्यवहार गर्दै खनिएको प्रत्यक्षदर्शीले बताएका छन्।
आफ्ना साथीहरूमाथि कुटपिट भएपछि निर्माण व्यवसायी र स्थानीय पक्षले प्रतिकार गरेका थिए। दुई पक्षबीच भएको सोही झडपका क्रममा दुवै तर्फका व्यक्तिहरू घाइते भएका छन्। यस्ता उच्छृङ्खल गतिविधिले विकास निर्माणमा बाधा पुग्ने र कानुनी राज्यको उपहास हुने भएकाले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरोकारवालाहरूले माग गरेका छन्।






