विवाहित महिलाहरूको ठूलो सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को उपाधि बुटवलकी रक्षा पन्तले जितेकी छन्।
राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा शनिबार राति सम्पन्न अन्तिम प्रतिस्पर्धामा २४ प्रतिस्पर्धीलाई पछि पार्दै रक्षाले उपाधि जितेकी हुन्। उनी अभिनेत्री सुरक्षा पन्तकी बहिनी हुन्। बहिनीले उपाधि जितेपछि सुरक्षाले सामाजिक सञ्जालमा बधाईसमेत दिएकी छन्।

फिनालेमा प्रमुख निर्णायक नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले अन्तिम प्रतिस्पर्धामा सोधेको ‘समाजमा विद्यमान विकृतिमध्ये तपाईं के हटाउन चाहनुहुन्छ?’ भन्ने निर्णायक प्रश्नको सटिक जवाफ दिएर रक्षाले सो उपाधि हासिल गरेकी हुन्।
‘केडी फोटोग्राफी मस्ट फोटोजेनिक’ उप–उपाधि विजेतासमेत बनेकी उनले शीर्ष उपाधिसँगै स्कुटरका साथ अमेरिकामा हुने ‘मिसेस वल्र्ड २०२६’ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर पनि प्राप्त गर्ने भएकी छन्।
प्रतियोगितामा सञ्जु भट्ट ‘मिसेस नेपाल इन्टरनेशनल’ भइन्। उनले ‘सेन्ट्रल फेसन स्कुल फेसन आइकन’ को उप-उपाधिसमेत जितिन्।
त्यस्तै, दीपिका तामाङ ‘एमएस नेपाल इन्टरनेशनल’ को उपाधि विजेता भइन्। ‘मिसेस नेपाल वल्र्ड’ मै विद्या चौहान ‘फस्ट रनर्सअप’ का साथमा ‘भ्युवर्स च्वाइस’ र ‘फेसबुक च्वाइस’, एलिना केसी ‘सेकेन्ड रनर्सअप’ का साथमा ‘क्युट केयर बेस्ट हेयर’ र निर्मला सुनुवार ‘थर्ड रनर्सअप’ का साथमा ‘सावित्री कञ्चनजङ्गा बेस्ट डान्सर’ को विजेता भए। उनीहरूले उपाधिसँगै विभिन्न ‘गिफ्ट ह्याम्पर’ प्राप्त गरेका छन्।













