जेनजी आन्दोलनका कारण प्रभावित नयाँ सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) परीक्षा सुरु भएको छ । यातायात व्यवस्था विभागले पहिलो चरणमा उपत्यकाका चार यातायात व्यवस्था कार्यालयबाट सेवा थालेको हो ।विभागका निर्देशक केशव खतिवडाकाअनुसार आइतबारदेखि यातायात व्यवस्था कार्यालय सानोभर्याङ र भक्तपुरको राधेराधेबाट तथा सोमबारदेखि चाबहिल र एकान्तकुना कार्यालयबाट सेवा सुरु भएको छ ।
बिस्तारै अन्य स्थानबाट पनि सेवा दिने तयारी गर्दैछौँ ।’अवधि सकिएका नयाँ र पुराना लाइसेन्स सबैको नवीकरण सेवा पनि यसअघि नै सुरु भइसकेको छ ।उनका अनुसार छिट्टै उपत्यकाबाहिरका यातायात व्यवस्था कार्यालयबाट पनि नयाँ लाइसेन्स सेवा सुरु गरिँदै छ । देशभरका ४२ मध्ये ३८ वटा यातायात व्यवस्था कार्यालयबाट अन्य सेवा सुरु भइसकेको छ ।

- कसरी दिने आवेदन ?
नयाँ सवारी लाइसेन्सका लागि सेवाग्राहीले applydlnew.dotm.gov.np मा गएर आवेदन दिनसक्ने विभागले जनाएको छ । विभागका अनुसार उक्त वेवसाइमा गइसकेपछि आफ्नो मोबाइल नम्बर प्रविष्ट गर्ने, क्याप्चा प्रविष्ट गर्ने यसपछि ‘एम पिन’ मोबाइलको म्यासेजमा आउँछ । उक्त एमपिन हानिसकेपछि ‘न्यु लाइसेन्स’मा गएर आफूले कुन यातायात कार्यालयमा गएर परीक्षा दिने हो त्यस कार्यालय छान्नु पर्नेछ । यसपछि आफूले चाहेको समय छानेर नयाँ लाइसेन्सका लागि आवेदन दिन सकिन्छ । त्यसपछि लिखित र प्रयोगात्मक परिक्षा हुने विभागको भनाइ छ ।
लाइसेन्स तत्काल आवश्यक परेका सेवाग्राहीले अनलाइनमार्फत अर्थात विभागमा उपस्थित भएर निवेदन दिएपछि तत्काल उपलब्ध गराउने विभागले जनाएको छ ।अत्यावश्यक चालक अनुमति पत्र छपाई सम्बन्धी निर्देशिकामा भिसा र जब अप्लाइका लागि अत्यावश्यक सवारी चालक अनुमति पत्र तत्काल उपलब्ध गराउने व्यवस्था छ । यसअनुसार विभागले कुनै नेपाली नागरिकलाई प्रवेशाज्ञा प्राप्त (भिसा अप्लाइ) गर्न अत्यावश्यक भए तत्काल चालक अनुमति पत्र छपाई गर्न सक्नेछ ।
निवेदकले भिसा अप्लाइ गर्न चालक अनुमति पत्र अत्यावश्यक भएको पुष्टि भएको कागजातसहित सम्बन्धित कन्सल्टेन्सी वा म्यानपावर कम्पनी वा स्पोन्सरबाट सिफारिसपत्र संलग्न गरी विभागसमक्ष आवेदन गर्नुपर्नेछ । लाइसेन्स अत्यावश्यक छपाइका लागि जब अप्लाइको फारम वा जब अप्लाइका लागि चालक अनुमति पत्र अनिवार्य रूपमा संलग्न गर्नुपर्ने कुरा पुष्टि हुने कागजात समेत संलग्न गरी विभागमा आवेदन गर्न सकिनेछ ।यसका लागि सवारी चालक अनुमतिपत्रको फारम वेबसाइटमा गई विभागसमक्ष अनलाइन आवेदन गर्न सकिनेछ । तर सर्भर डाउन लगायतका समस्या भएमा आवश्यक कागजात संलग्न गरी विभागसमक्ष आवेदन गर्न सकिने छ ।













