काठमाडौं: मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरणमा लगाइएको अवरोध हटाउन सरकार र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाबीच मंगलबार राति सहमति भएको छ। यस सहमतिसँगै विगत चार दिनदेखि रोकिएको मेलम्चीको पानी काठमाडौं उपत्यकामा पुनः पथान्तरण गरिने भएको छ।
सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रका स्थानीय बासिन्दाले विभिन्न माग राख्दै अम्बाथानस्थित सुरुङको गेट बन्द गरेर पानी रोकेका थिए। उनीहरूले २०८१ असोज २३ गते तत्कालीन खानेपानीमन्त्री प्रदीप यादव, खानेपानी मन्त्रालयका सचिव प्रमिला देवी र स्थानीय बाढीपीडित संघर्ष समितिबीच भएको १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै आन्दोलन गरेका थिए।

पटकपटकको वार्ता निष्कर्षविहीन भएपछि अन्ततः मंगलबार राति भएको सहमतिसँगै संघर्ष समितिले आफ्ना सबै आन्दोलनका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ। यो सहमतिले काठमाडौं उपत्यकाको खानेपानी आपूर्तिमा देखिएको अनिश्चितता तत्कालका लागि हटेको छ। मन्त्रालयले पुरानो सहमतिलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि स्थानीयले आयोजनालाई सहज रूपमा अघि बढ्न दिएका हुन्।














