बाह्रबिसे, सिन्धुपाल्चोक: लामो समयदेखि गीत–संगीतको क्षेत्रमा निरन्तर सङ्घर्ष गरिरहेका बाह्रबिसे नगरपालिका–९, कल्लेरीका गायक आदित्य श्रेष्ठको नयाँ गीत ‘पहिलो हाँसो पहिलो बोल’ ले यतिबेला टिकटक र युट्युब दुवै प्लेटफर्ममा तहल्का मच्चाएको छ।
गीत सार्वजनिक भएको छोटो समयमै टिकटकमा अत्यधिक चर्चा बटुलिरहेको यस गीतले गायक श्रेष्ठलाई दर्शक तथा श्रोताबाट उल्लेख्य माया र समर्थन दिलाएको छ। यसअघि उनले गाएका थुप्रै गीतहरूले अपेक्षित सफलता प्राप्त गर्न नसके पनि ‘पहिलो हाँसो पहिलो बोल’ ले भने उनको सांगीतिक यात्रामा एक नयाँ र सफल मोड दिएको छ।

गायक श्रेष्ठका अनुसार, यो गीत पहिले नै रेकर्ड भइसकेको भए पनि आर्थिक अभावका कारण सार्वजनिक गर्न केही ढिलाइ भएको थियो। अन्ततः करिब पाँच दिनअघि मात्र यो गीत ‘Aditya Shrestha’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतको चर्चा युट्युबमा पनि चुलिएको छ। यो समाचार तयार पार्दासम्म उक्त गीतलाई दर्शकले १० लाख पटक हेरिसकेका छन्। साथै, यसले ३२ हजार लाइक र करिब ३ हजार ५ सय प्रेरणादायी टिप्पणीहरू प्राप्त गरेको छ। यसले गायक श्रेष्ठको वर्षौंको सङ्घर्ष र प्रतिभालाई जनमानसमा स्थापित गर्न मद्दत पुगेको देखिन्छ। श्रेष्ठको यो सफलताले आर्थिक अभावका कारण पछि परेका अन्य प्रतिभाहरूलाई समेत प्रेरणा दिएको छ।
👉 ‘पहिलो हाँसो पहिलो बोल’ गितको भिडियो हेर्न तल क्लिक गर्नु होला ।






