सिन्धुपाल्चोक — “स्वच्छ गौरती, हरित वातावरण: हाम्रो अभियान” भन्ने नाराका साथ गौरती मन्दिर परिसरमा कार्तिक २० गते सरसफाइ तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न भएको छ। कञ्चन स्मृति ग्राम विकास पुस्तकालयको आयोजनामा र ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी (रेष्ट) को सहकार्यमा सम्पन्न सो कार्यक्रममा विद्यार्थी, स्थानीय बासिन्दा र स्वयंसेवक गरी करिब २० जनाको सहभागिता थियो।
कार्यक्रम बिहान करिब १२ बजे सुरु भएको थियो। गौरती मन्दिरमा भक्तजनहरूको भीडपछि परिसर र वरिपरिका क्षेत्रहरूमा जम्मा भएको बोटल, प्लास्टिक, कागजजस्ता फोहोर संकलन गरी व्यवस्थापन गरिएको थियो। सहभागीहरूले निस्वार्थ भावनाका साथ सरसफाइमा सक्रिय भूमिका निर्वाह गर्दै स्वच्छ र हरित वातावरण निर्माणमा समाजको जिम्मेवारीबारे सन्देश प्रवाह गरेका थिए।

कञ्चन स्मृति ग्राम विकास पुस्तकालयका अध्यक्ष सुरेश कसजूका अनुसार यस अभियानले गौरती मन्दिर क्षेत्रको पवित्रता, सौन्दर्य र वातावरणीय सन्तुलन जोगाउन मद्दत पुर्याउने उद्देश्य लिएको हो। स्थानीय बासिन्दा र भक्तजनहरूले विद्यार्थीहरूको योगदानप्रति खुशी व्यक्त गर्दै यस्ता अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्। आयोजकहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।







