सिन्धुपाल्चोक- किसानहरूले वर्षभर पसिना बगाएर उत्पादन गरेको धान भित्र्याउने बेलामा लगातार परिरहेको हिउँदे वर्षाले बलेफी गाउँपालिकाका किसानलाई ठूलो नोक्सानी पु¥याएको छ। बिगत चार दिनदेखि अबिरल रूपमा परेको वर्षाका कारण काटेर खेतमै राखिएको धान भिजेर कुहिन थालेको छ।
धान भित्र्याउने मुख्य सिजनमा परेको असामान्य वर्षाले किसानहरूको मनोबल कमजोर बनाएको छ। धान सुकाउने मौका नपाउँदा अन्न बिग्रन थालेको र पराल समेत कालो भएर गाईवस्तुले नखाने किसानहरूको गुनासो छ।

क्षतिको वास्तविक स्थिति बुझ्नका लागि बलेफी गाउँपालिका–५ का वडाध्यक्ष यादव ठकुरीले विभिन्न बस्ती र खेतबारीको स्थलगत अनुगमन गरेका छन्। उनले स्थानीय किसानहरूसँग भेटघाट गर्दै धानबालीमा पुगेको क्षतिको विवरण संकलन गरेका छन्।
वडाध्यक्ष ठकुरीले भने, “हामी अहिले हरेक किसानको खेतमा पुगेका छौं। धान काटेर राखेको भिजेको छ, केही ठाउँमा ढलेको छ। वास्तविक तथ्यांक संकलन गरेर उपल्लो निकायमा प्रतिवेदन पठाइनेछ।”उनका अनुसार धेरै किसानको वर्षभरको अन्न उत्पादनमा ठूलो क्षति पुगेको छ। “कसैले मुरि फलाएर वर्षभर खान पाइन्छ भन्ने धान अहिले नष्ट भएको छ। किसानलाई राहतको माग गर्ने तयारीमा छौं,” उनले बताए।
स्थानीय किसानहरूका अनुसार, चार दिनदेखि लगातार परिरहेको वर्षाले खेतमा पानी जमेको छ। धेरै ठाउँमा काटेको धान भिजेर कुहिएको र नसोचेको घाटा बेहोर्नु परेको बताएका छन्।वडाध्यक्ष ठकुरीले अनुगमनपछि किसानलाई धान जोगाउन सम्भव भएसम्म प्लास्टिकले ढाक्ने र पानी नजम्ने गरी निकास मिलाउने सुझाव दिएका छन्। उनले थपे,
बलेफीका किसानहरू अहिले घाम लाग्ने आशामा छन्। तर मौसम पूर्वानुमान अनुसार अझ केही दिनसम्म हल्का देखि मध्यम वर्षा पर्ने सम्भावना भएकाले किसानहरू थप चिन्तित बनेका छन्।





