काठमाडौँ । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङ (समीर)ले सिन्धुपाल्चोकको मेलम्ची, तिपेनी हुँदै भोताङसम्म पुग्ने सडक निर्माण कार्यको शिलान्यास गरेका छन्।
मन्त्री तामाङले शनिबार मेलम्चीमा आयोजित कार्यक्रममा मेलम्ची–खाल्डेखोला खण्डअन्तर्गत मेलम्ची, तिपेनी हुँदै भोताङसम्म जाने सडकको शिलान्यास गर्दै लामो समयदेखि चुनावी भाषणमा मात्र सीमित रहेको यो सडक अब काममार्फतै पूरा हुने बताएका छन्।

‘जनताले भाषणमा होइन, काममा विश्वास गर्छन्,’ मन्त्री तामाङले भने, ‘सडकलाई प्राथमिकता दिई काम गर्ने जनप्रतिबद्धता पूरा गर्ने क्रममा यो शिलान्यास गरिएको हो।’
मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले धेरै प्रयासपछि बजेट पार्न सफल भएको बताए। उनले यो परियोजना कुनै व्यक्ति वा पार्टीको होइन, सम्पूर्ण जनताको साझा योजना भएको स्पष्ट पारे।
‘पाँचपोखरीसम्म पुग्ने मुख्य मार्गका रूपमा यो सडक केवल मेलम्ची नगरको नभई सबै नेपालीको सम्पत्ति हो,’ मेयर तामाङले भने, ‘यसका कारण नगरपालिकाले धेरै आलोचना खेप्नुपर्यो, अब छिटोभन्दा छिटो सहज यात्राको वातावरण बनाउनुपर्छ।’
सडक निर्माण कार्य आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय, सिन्धुपाल्चोक चौताराले ईफाता/गेहेन्द्र जे.भीसँग ठेक्का सम्झौता गरी सुरु गर्न लागेको हो।




