सिन्धुपाल्चोक- मेलम्ची नगरपालिकाको समन्वयमा प्रकृति रिसोर्स सेन्टरले २०७८ सालको विनाशकारी मेलम्ची खोलाको बाढीले मेलम्ची र हेलम्बुमा पारेको गैर–आर्थिक हानि र नोक्सानीबारे विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ।
अध्ययनले बाढीले भौतिक मात्र नभई सांस्कृतिक पहिचान, सामुदायिक आत्मबल र आपसी सम्बन्धमा गहिरो असर पारेको निष्कर्ष निकालेको छ। प्रतिवेदनमा मनोसामाजिक सहयोग र सांस्कृतिक पुनर्निर्माणलाई दीर्घकालीन पुनःस्थापना रणनीतिमा प्राथमिकता दिन सुझाव दिइएको छ।

कार्यक्रम मेलम्ची नगरप्रमुख आइतमान तामाङको प्रमुख आतिथ्य र उपप्रमुख उमा प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडा नं. २, ६ र १० का वडाध्यक्ष नगेन्द्रप्रसाद खतिवडा, प्रेमबहादुर तामाङ र अमृत खनाल, समाजसेवी तथा राजनीतिज्ञ बालकृष्ण देउजा, सुरक्षा निकायका प्रतिनिधि तथा अन्य सरोकारवालाको उल्लेखनीय उपस्थिती रहेको थियो।













