काठमाडौँ । पूर्व अरनिको यातायात प्रा.लि.मा लामो समयदेखि देखिँदै आएको अनियमितता, भ्रष्टाचार, आर्थिक शोषण र अत्याचारका कारण शनिबार व्यवसायी र व्यवस्थापन पक्षबीच हात हालाहाल भएको छ।
व्यवसायीहरूका अनुसार अध्यक्ष केदार क्षेत्रीले विगत तीन वर्षदेखि व्यवसायीहरू माथि आर्थिक र प्रशासनिक दुरुपयोग गर्दै आएका छन्। प्रत्येक गाडीबाट “क्यु महसूल” शीर्षकमा प्रति ट्रिप रु.१५०० देखि रु.४५०० सम्म अनधिकृत रकम असुली हुँदै आएको आरोप छ। त्यसैगरी, जडीबुटीस्थित अरनिको बसपार्कमा गाडी प्रवेश गर्दा प्रति ट्रिप रु.३५० प्रवेश शुल्क तिर्नुपर्ने र सटर तथा कवलबाट मात्रै मासिक करिब रु.२१ लाख आम्दानी हुने भए पनि व्यवसायीहरूलाई निरन्तर शोषण गरिएको दाबी गरिएको छ।

विवाद चर्किँदा अध्यक्ष क्षेत्रीले व्यवसायीलाई धम्क्याउँदै कुटपिट गरेको र त्यसको प्रतिकारमा व्यवसायीहरू पनि उत्रिँदा दुवै पक्षका केही व्यक्ति घाइते भएको बताइएको छ।
व्यवसायीहरूले कम्पनीको महाधिवेशन तीन वर्षदेखि नभएको, बीमा तथा गाडी दर्तामा ठूलो कमिसन लिने जस्ता भ्रष्टाचारका घटना निरन्तर भइरहेका आरोप लगाएका छन्। सो अनियमितता सम्बन्धी मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भए पनि अझै अघि नबढेको बताइन्छ।




