काठमाडौं । सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा मेलम्ची नगरपालिकाका सम्पूर्ण कर्मचारीहरूले एकदिनको तलब सहयोग गर्ने भएका छन्।
जेनजी आन्दोलनका क्रममा देशभर भएका आगजनी र तोडफोडका कारण क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतका लागि नेपाल सरकारले उक्त कोष स्थापना गरेको हो।

मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रका अनुसार देशभरका विनाशकारी घटनाबाट प्रभावित संरचनाको पुनर्निर्माणमा हातेमालो गर्न नगरपालिकाका सम्पूर्ण कर्मचारीहरूले एकदिनको तलब सहयोग गर्ने निर्णय गरिएको हो।
उनले यो योगदानले पुनर्निर्माण र राहतका कार्यलाई थप गति र बल पुर्याउने विश्वास व्यक्त गरे।
भौतिक पूर्वाधार पुनर्निर्माण कोष अर्थमन्त्रीको अध्यक्षतामा रहेको छ। यस कोषमा गृहमन्त्री, शहरी विकासमन्त्री र नेपाल सरकारका मुख्यसचिव सदस्य छन् भने शहरी विकास मन्त्रालयका सचिव सदस्य–सचिवका रूपमा रहनेछन्।
समितिले आन्दोलनका कारण क्षति भएका संरचनाको पुनर्निर्माण कार्ययोजना तयार गर्ने, स्वीकृति दिने, कार्यक्रम सञ्चालन गर्ने तथा अनुगमन र सुपरिवेक्षणको जिम्मेवारी पाउनेछ।




