काठमाडौं महानगरपालिकाले तिहारमा विदेशबाट आयात गरिएको फूलमाला बिक्री वितरणमा रोक लगाएको छ।
महानगर प्रहरी बलले आज यहाँ पत्रकार सम्मेलन गरी नेपाली किसानलाई प्रोत्साहन गर्नका लागि विदेशबाट आयात गरिएका फूलमाला प्रतिबन्ध गराउने निर्णय गरेको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा महानगर प्रहरी बलका प्रमुख, नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले स्वदेशमा उत्पादित फूलको प्रयोगलाई बढाउनका लागि महानगरले आगामी कात्तिक १ देखि ६ गतेसम्म ३२ स्थानमा फूल बिक्री केन्द्र स्थापना गरेको जानकारी दिए।
‘अवैध रुपमा विदेशबाट आयात गरिएका फूल बिक्रीमा प्रतिबन्ध लगाउनु र स्वदेशमा उत्पादित फूलको प्रयोगलाई बढाउनु नै हाम्रो उद्देश्य हो, अवैध रुपमा विदेशबाट आएका फूललाई महानगरपालिकाले जफत गर्नेछ’।













