विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमालको चुचुरोमा पुग्ने ‘रुट’ तयार गरिएकोे छ । धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्छ । चालु शरदयाममा आरोहण टोली लिएर हिमालमा पुगेका चार जना शेर्पाहरूले ‘रुट’ बनाएर चुचुरोमा पुगेका हुन् । आरोहण कम्पनी सेभेन समिट ट्रेक्सका संस्थापक मिङ्मा शेर्पाले आधार शिविरदेखि बाटो बनाएर धवलागिरिको चुचुरोमा पुगेका चार जना शेर्पाहरूको टोलीले शनिबार ‘रोप फिक्सिङ’ (डोरी तानेको) जानकारी दिए ।
“चौध शिखर अभियान र सात शिखर पदयात्राका शेर्पाहरूको संयुक्त टोलीले धवलागिरिको चुचुरोसम्म मार्ग खोलेको छ”, उनले भने, “यसले गर्दा यस सिजनमा सबै पर्वतारोहीका लागि धवलागिरि हिमाल पहुँचयोग्य भएको छ ।”














