काठमाडौँ- चीनबाट नेपाल भित्रिएर तातोपानी भन्सार भएर काठमाडौँ जाँदै गरेको कन्टेनरहरू पहिरोले डाक्लाङमा रोकिएपछि फलफूल भने कुहिन थालेको छ । दसैँको लागि काठमाडौँ भित्र्याइन लागेको स्याउ, आँप, अंगुर, सुन्तला, किवी, ड्रागनफूट लगायतका फलफुल पहिरोको कारण कुहिन थालेको हो ।
घटस्थापना आउन दुई दिन मात्रै बाँकी छ । जसरी नेपालीहरूलाई चाडपर्वले छपक्कै छोपेको छ, त्यसैगरी तातोपानी नाका सम्वद्ध व्यापारीहरूलाई पहिरोले छोपेर रून मात्रै सकेका छैनन् । उसै त २०७१ सालको जुरो पहिरोबाट धरमर-धरमर चलिरहेको तातोपानी नाका गत साउन ६ गते भोटेकोशी गाउँपालिका-२ स्थित इकोमा आएको पहिरोले ठप्पप्राय छ ।

बाह्रबिसेदेखि माथि लागेपछि भेटिन थाल्छ लेदोसहितको पहिरो । घट्टेखोलामा १० मिटर, लार्चामा २५ मिटर, पान्थलीमा १०० मिटर, डाक्लाङमा ११० मिटर र इकोमा २५० मिटर लेदोसहितको पहिरो बगिरहेको छ । यीमध्ये तीन वटा पहिरोले दसैँका लागि आएका सामानहरू अड्किएका छन्, इको, पान्थली र डाक्लाङ ।
देशमा राजनीतिक उथलपुथल भएसँगै नयाँ सरकार बनेपछि बिहीबार सडक विभागको टोली स्थलगत अनुगमनमा गएको थियो । सडक विभागका महानिर्देशक डा. विजय जैसी, उपमहानिर्देशक प्रभातकुमार झा, पहिरो विशेषज्ञ मधुसुधन आचार्य, उदयराज न्यौपाने, सुभराज न्यौपानेलगायत टोलीले त्यहाँको स्थानीय, व्यवसायीसँग बिहीबार तातोपानी भन्सारमा छलफल गरेको थियो ।
उक्त छलफलमा दसैँ लक्षित सामान अड्किपछि व्यवसायीहरूले आक्रोशित देखिन्थे । करिब १ हजार ५ सय कन्टेनरमा दसैँ लक्षित आएको सामान अड्किएको शिल्क ट्रान्सपोर्टका डाइरेक्टर विजय शेर्पाले बताए ।
‘फलफूल र लसुनलगायत सामान कुहिएको छ’ शेर्पाले भने ‘कतिपय कन्टेनर चीनमै अड्किएको छ भने कतिपय नेपाल भित्रिएर पनि काठमाडौँ पठाउन सकिएको छैन ।’
व्यवसायी शेर्पाका अनुसार दसैँ लक्षित सामान ल्याएको शिल्कको मात्र करिब ८/९ सय वटा कन्टेनर फसेको छ । सामान लोड गरेर चीनमा एउटा कन्टेनर राखेको करिब १२ देखि १४ हजार रूपैयाँ तिर्नुपर्ने शेर्पाले बताए । व्यवसायीको दसैँ अगाडि पुर्याउनुपर्ने सामान अझै अड्किएपछि आफूहरूले ठूलो घाटा व्यहोर्नुपर्ने बताए ।
‘५० दिनदेखि सामान रोकिएको छ । दसैँ लक्षित लत्ताकपडा, रअ मेट्रियल धेरै मात्रामा फलफुल अड्किएको छ । सामान पठाउन सकिएको छैन’ शेर्पाले भने ।
‘कतिपय फलफुल बोकाएर पहिरो तारेका थियौँ । एउटा पहिरो तार्दा एक कन्टेनरको खर्च १ लाखदेखि डेढ लाखसम्म बढी निस्किन्छ । अहिले फेरि डाक्लाङमा पहिरो गएर त्यहाँ पनि बोकाउनुपर्ने स्थिति आयो । अब व्यवसायीले काम गर्न नसक्ने स्थिति भयो’ शेर्पाले दुखेसो पोखे ‘३ वटा पहिरो कटाउँदा एक कन्टेनर बराबर करिब साढे तीन लाखदेखि ४ लाख बढी खर्च आउँछ । त्यसरी काम गर्न सकिँदैन् । बरू कुहिएर जाओस् तर बोकाएर पहिरो कटाउन सक्ने स्थिति भएन ।’
उनका अनुसार यस भन्दाअघि इको पहिरोमा भरिया लगाएर सामान तार्दा एक कन्टेनरको खर्च १ लाखदेखि डेढ लाखसम्म बढी निस्किएको थियो ।
यसअघि सरकारको ढोका ढकढक्याउँदा पनि वास्ता नगरेको कारण तातोपानीको सडक नबनेको शेर्पाको भनाइ छ । ‘पहिला सरकारले बेवास्ता गरेन । अहिले नयाँ सरकार आएपछि अनुगमनमा आउनु भएको छ सडक विभागको टीम । केहि गर्नुहुन्छ कि’ शेर्पाले भने ।
२४ असारमा चीनको ल्हेन्दे खोलामा आएको बाढीले रसुवागढी नाका पूर्ण रूपमा ठप्प भएपछि त्यहाँको सबै सामान तातोपानी नाकामा आएको उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बुद्धराज बस्नेतले बताए । तातोपानीबाट पनि सम्भव नभएपछि कोरला नाकाबाट कतिपय सामान ल्याइएको उनले बताए । बुधबार २५ कन्टेनर सामान भन्सार भएको उनको भनाई छ । राज्य मात्रै नभएर भुगोल र प्रकृतिले पनि साथ नदिएको बस्नेतले बताए ।
‘१२/१५ सय कन्टेनर चीनको भुभागमा अड्किएको छ । २/४ दिनमा सामान पुर्याउन सकिन्छ भन्ने आश अझै बाँकी छ’ बस्नेतले भने ‘नेपालमा अन्य ठाउँमा पुर्याउन नसके पनि काठमाडौँ आसपास पुर्याउन सकिन्छ कि भन्ने लाग्छ ।’
केरूङ, ल्हासा, सिगात्से, न्यालम, खासा र नेपालमा लोड भएर बसेका कन्टेनरका सामान लैजान नसकिएको उनले बताए । उनका अनुसार ५० अर्ब रूपैयाँ बराबरको सामान फसेर बसेको छ । सामान बोकाएर पार गराउँदा महंगी बढ्ने उनको भनाई छ ।
‘दुई महिना अगाडि साढे ३ सय रूपैयाँ किलोमा पाउने स्याउ अहिले साढे ४ सय रूपैयाँ पुगेको’ बस्नेतले भने ‘यो त फलफूलको मात्रै कुरा भयो, अरू सामानहरूको हालत पनि त्यस्तै छ । व्यवसायीले यत्रो समय व्याज तिरेर बसेका छन् ति सबै जोड्छन् । ति सबै कस्ट जोडेर नै बजारमा पठाउँछन् सामान, त्यसैले महंगी बढ्छ । उपभोक्ता मारमा पर्छन् ।’
कोरला नाकाबाट सामान ल्याउँदा पनि दुरीको हिसाबमा टाढापर्ने उनको भनाई छ । उनका अनुसार कोरलाबाट काठमाडौँ ४०० किलोमिटर पर्छ भने तातोपानीबाट काठमाडौँ ११४ किलोमिटरमा पुगिन्छ ।
तातोपानी नाका बन्द हुँदा दैनिक करिब ७ करोड रूपैयाँ राजस्व गुमेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुँडालले बताए । तातोपानी भन्सारलाई सरकारले २४ अर्ब रूपैयाँ राजस्वको लक्ष्य दिएको छ ।
वर्षा सुरु हुने वित्तिकै माथिबाट लेदो बगेर सडक नै बगाइदिने समस्या रहेको भोटेकोशी २ का वडाध्यक्ष कुमार श्रेष्ठले बताए । ‘दिउँसो सडक बनाउने तर राती आएको पानीले सडक नै बगाउने समस्या भइरहेको उनले बताए ।
भूकम्प गएको सालदेखि इको पहिरो गएपनि सरकारले वास्ता नगर्दा यो स्थिति आएको पहिरो माथि वस्तिमा घर रहेका स्थानीय राजेश थामीले बताए । ‘हिउँदमा काम गर्दैनन् जब बर्खा लाग्छ अनि तात्छ सरकार । जब बाटो बिग्रन्छ त्यतिबेला मात्रै आउँछ सडक डिभिजन । हाम्रो वस्ति जोगाएर बाटो बनाइदिनु होला’ उनले भने । उनका अनुसार ७०/८० घरधुरी समस्यामा रहेको छ ।
पहिरोले गर्दा दसैँको मुखमा व्यवसायीहरू धेरै मारमा परेको नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिका सञ्चालक समिति सदस्य शम्भु तिमिल्सिनाले बताए । ‘दसैँ आइसक्यो पहिरोले सामान बिचमै अड्किएको छ’ तिमिल्सिनाले भने ‘दसैँअघि सामान लैजान नसकिए व्यवसायीहरू डुब्छन् ।’
कृष्णभीरको पनि समस्या समाधान गर्यौँ, यहाँको पनि गर्छौँ : महानिर्देशक जैसी
डा. विजय जैसी, महानिर्देशक, सडक विभाग
गत वर्षदेखि पहिरोको समस्या समाधान गर्न लागि रहेका थियौँ । पहिलामाथिबाट प्लास्टिक राख्यौँ । भित्र पानी जमेको भेटियो । पानी झिक्ने कोसिस गर्यौँ । वर्षाको समयमा पानी पर्नाले समस्या निम्त्यायो । बिहान दिउँसो काम गर्यो रातिको पानीले भोलिपल्टै उस्तै बनाउने भएकाले तत्काल बाटो बनाउन नसकिएको हो । तल खोलाले कटान पनि गरिरहेको छ ।
हिजोको दिनमा हामीले कृष्णभीरको पनि समस्या समाधान गर्यौँ, अब यहाँको पनि गर्छौँ ।
इकोमा दुई किसिमले काम थालेका छौँ । एउटा अल्पकालीन र अर्को दीर्घकालीन । अल्पकालीन चैं हामी २/४ दिनमै बाटो खोल्छौँ । दीर्घकालीनमा भने एक खालको डिजाइन हामीले गरिसकेका छौँ त्यसलाई अपडेट गरेर काम सुरू गर्छौँ । दुई महिनाभित्रमा ठेक्का निकाल्छौँ ।
चिनियाँ पक्षले पनि यो बाटोको चासो देखाएको छ । उनीहरूले सुरूङ बनाएर पनि काम गर्न तयार छन् । सुरूङ नबनाएर अर्को तरिकाले सडक बनाऔँ भनेर पनि उहाँहरूले सोलुसन दिनु भएको छ । सुरूङ बनाउन स्थानीय तयार भएनन् । त्यसपछि बाहिरबाट सडक बनाउनुपर्छ भनेर चीन पनि लागिरहेको छ ।
चिनियाँ पक्षसँग काम गर्दा फेरि समय लम्बिने हो कि भन्ने समस्या छ । अब मन्त्रालय गएर मन्त्रीज्यू र सचिवज्यूसँग कुरा गर्छु । नेपाली पक्षबाट काम गर्न पनि हामीलाई बजेटको समस्या छैन । अब यो नाकालाई महत्व दिएर दीर्घकालीन रूपमा सोचेका छौँ ।














