सिन्धुपाल्चोक- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बलेफी गाउँपालिका अधिवेशनका क्रममा नेपाली कांग्रेस र नेकपा एमालेका पूर्व नेता तथा कार्यकर्तासहित दर्जनौं व्यक्ति रास्वपामा प्रवेश गरेका छन्।
पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि सिन्धुपाल्चोक क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य भरत प्रसाद पराजुली ले नवप्रवेशीहरूलाई खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।

रास्वपामा प्रवेश गर्नेहरूमा नेपाली कांग्रेसका पूर्व नेता रञ्जित पौडेल, कृष्ण अधिकारी तथा नेकपा एमालेका नमराज भट्टराई, पुरुषोत्तम सापकोटा, हरि न्यौपाने, पार्वती अर्याल लगायत रहेका छन्।
पार्टी प्रवेशपछि बोल्दै रञ्जित पौडेलले युवाको आशा र जनमत रास्वपातर्फ केन्द्रित भएको भन्दै दुई दशकभन्दा लामो कांग्रेस राजनीतिक यात्रा अन्त्य गरेर रास्वपामा आबद्ध भएको बताए।
“यो युवाको जनमत हो, विचार र मन मिल्यो। २० वर्षदेखि आबद्ध रहेको कांग्रेस पार्टी परित्याग गरी आज राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको हुँ,” उनले भने।
अधिवेशनमा विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ताको सहभागिता र पार्टी प्रवेशले बलेफी क्षेत्रमा रास्वपाको संगठन विस्तार र प्रभाव बढ्दै गएको नेताहरूले बताएका छन्।








