सिन्धुपाल्चोक-मेलम्ची नगरपालिकाद्वारा आयोजित खुला नगर प्रमुख (मेयर) कप कराँते प्रतियोगिता मंगलबारबाट सुरु भएको छ। प्रतियोगिताको उद्घाटन गर्दै मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले खेलकुदले स्वस्थ, अनुशासित र सक्षम समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।


उहाँले खेलाडीहरूलाई जित–हारलाई स्वाभाविक रूपमा स्वीकार गर्न आग्रह गर्दै खेल मैदानमा प्रतिस्पर्धा जितका लागि भए पनि खेल भावना, अनुशासन र आत्मसंयम नै खेलाडीको वास्तविक पहिचान हुने उल्लेख गर्नुभयो। पराजित भएर निराश नहुन आग्रह गर्दै उहाँले हारलाई सफलताको आधारशिला मानेर अझ बढी मेहनतका साथ अगाडि बढ्न खेलाडीहरूलाई प्रेरित गर्नुभयो।नगर प्रमुख तामाङले खेलमा हार र जित दुवै हुने भए पनि अनुशासन, समर्पण र निरन्तर प्रयासले मात्र खेलाडीलाई सफलताको शिखरसम्म पुर्याउने बताउनुभयो।

नगर प्रमुख तामाङको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडा नं. ११ का अध्यक्ष चन्द्रबहादुर तामाङ, विभिन्न सुरक्षा निकायका प्रमुख तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतियोगितामा विभिन्न जिल्लाबाट आएका खेलाडीहरूको उत्साहजनक सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाएको छ। नगरपालिकाले खेलकुद क्षेत्रको विकास, प्रतिभा पहिचान तथा युवाहरूलाई सकारात्मक र सिर्जनशील गतिविधितर्फ अग्रसर गराउने उद्देश्यले यस्ता प्रतियोगितालाई निरन्तरता दिँदै आएको जनाएको छ।

नगरपालिकाले कराँते प्रतियोगिताले खेलको प्रवर्द्धनसँगै खेलाडीहरूबीच आपसी सद्भाव, मित्रता तथा स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ।












