कोटेश्वर स्थित भाटभटेनी सुपर मार्केट स्टोरमा एक जनाको शव भेटिएको छ । मृत भेटिने व्यक्ति रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर–६ घर भएर ललितपुर बस्दै आएका २२ वर्षीय विकास रसाइली हुन् ।
जलेको अवस्थामा उनको अस्थिपञ्जरमात्र भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी अपिल बोहराले बताए ।

ललितपुरको च्यासल बस्दै आएका रसाइली भदौ २४ मा साँझ काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ स्थित कोटेश्वरमा रहेको भाटभटेनीको शाखामा आगजनी हुँदा त्यहाँ पुगेका थिए । चौथो तलामा उनी पुग्दा तलबाट उनीसँगै गएका अरू प्रदर्शनकारीहरूले आगो लगाए ।
प्रहरीले उनको शवसँगै एउटा मोबाइल फेला पारेको छ । मोबाइलको प्राविधिक जाँच गर्दा रसाइलीकै रहेको पुष्टि भएको एसपी बोहराले जानकारी दिए ।
बुधबार सरसफाइ गर्दा चौथो तलामा उनको अस्थिपञ्जर फेला परेको हो । शव पोष्टमार्टमको लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।













