काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको छ।
नेपालीको महान् पर्व विजयादशमी तथा तिहार नजिकिँदै गर्दा नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको हो।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ द्वारा गरिएको प्रदर्शनका कारण त्रिभुवन विश्वविद्यालय र त्यसअन्तर्गतका क्याम्पस बिदा भएपछि विद्यार्थी गृहजिल्ला जान थालेका छन् ।
नयाँ बसपार्कमा सञ्चालित लोत्से बहुउदेश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले नयाँ बसपार्कमा यात्रुको घुइँचो बढ्न थालेको बताए।
उनका अनुसार यातायात व्यवस्था विभागमा मंगलबार बसेको सरोकार भएका निकायको बैठकले यसवर्ष दसैँका लागि अग्रिम टिकट नखोल्ने निर्णय गरेको छ।
मल्लले यसअघि दैनिक चारदेखि पाँच हजार यात्रु बसपार्कबाट बाहिरिने गरेकामा अहिले सो सङ्ख्या बढेर १२ देखि १५ हजार पुगेको जानकारी दिए।













