काठमाडौँ । जेन–जीको आन्दोलनका कारण पाँच दिनदेखि ठप्प भएको सार्वजनिक यातायात शनिबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ। मंगलबारदेखि बन्द रहेका यातायात व्यवसायीहरूले स्थानीय सरकारसँगको समन्वयमा देशको अवस्था सामान्य बनेसँगै यातायात सेवा सञ्चालनमा ल्याएको बताएका छन्। लामो र छोटो दुरीका सवारी साधन चलेपछि यात्रुहरूलाई आवतजावत सहज भएको छ।
यता, दसैँ नजिकिँदै गर्दा यात्रुका समस्या भने यथावत देखिएका छन्। हरेक वर्षजस्तै टिकट अभाव, दोब्बर भाडा, ठगी र भीडभाडका समस्या दोहोरिने आशंका छ। सरकारले बर्सेनि यात्रुको सहजताका लागि अग्रिम टिकट बुकिङ खोल्ने गरे पनि यस वर्ष ढिलाइ भएको छ।

यातायात व्यवस्था विभागले पनि ढिलाइ स्वीकार गर्दै गत सोमबार सरोकारवालासँग छलफल गरेर अग्रिम टिकट बुकिङ खोल्ने तयारी भए पनि जेन–जी आन्दोलनका कारण छलफल हुन नसकेकाले ढिलाइ भएको जनाएको छ। विभागका निर्देशक श्रीकान्त यादवका अनुसार अब छिट्टै प्रक्रिया अगाडि बढाइने छ।













