काठमाडौं जिल्लामा आज बिहान ८:३० बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यू लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) अनुसार कर्फ्यू आदेश जारी गरेको हो ।
कर्फ्यू चक्रपथ भित्रको सम्पूर्ण क्षेत्रलाई लक्षित गरिएको छ। आदेश अनुसार बालकुमारी पुलदेखि कोटेश्वर, सिनामंगल, गौशाला, चावहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वाग्मती पुलसम्मको भौगोलिक क्षेत्रभित्र मानिसहरूको आवतजावत र कुनै पनि प्रकारका भेला, जुलुस, सभा, प्रदर्शन र बैठक पूर्ण रूपमा निषेध गरिएको छ।

कर्फ्यू अवधिमा अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारी, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधन, साथै हवाई टिकट देखाउने यात्रुहरूलाई भने सुरक्षाकर्मीको सहजीकरणमा आवतजावत गर्न अनुमति दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।








