काठमाडौं महानगरपालिका भित्रका सार्वजनिक स्थलमा धुम्रपान गर्नेहरूबाट जरिवाना लिन सुरू गरिएको छ।
अहिलेसम्म १७ जना कारबाहीमा परेका छन्।

सार्वजनिक स्थानमा धुम्रपान गरेबापत् १७ जनाले ५ सय रूपैयाँका दरले जरिवाना बुझाएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।
उनका अनुसार आइतबारदेखि कारबाही गर्न सुरू गरिएको हो।
‘सार्वजनिक स्थानमा धुम्रपान नगर्न साउन मसान्तसम्म हामीले जनचेतनामूलक कार्यक्रम गरिरहेका थियौं। तर हिजोदेखि जरिवाना तिराउन सुरू गरेका छौं,’ उनले भने।
सार्वजनिक स्थानमा धुम्रपान गर्नेहरूबाट आइतबार ८ हजार ५०० रूपैयाँ जरिवाना उठेको उनले बताए।
कोही व्यक्तिले सार्वजनिक स्थानमा धुम्रपान गरेको भेटिँदा सो व्यक्तिलाई ठाउँको ठाउँ जरिवाना तिराउने गरिएको उनले बताए।













