सिन्धुपाल्चोक –नेपाली कांग्रेसका महासमिति सदस्य राजेन्द्रबहादुर गोर्खाली १० करोड रुपैयाँको चेक बाउन्स प्रकरणमा काठमाडौंबाट पक्राउ परेका छन्। चावहिलका स्थायी बासिन्दा गोर्खाली राजनीतिक संरक्षणका लागि केही वर्षअघि सिन्धुपाल्चोक आएका थिए।
पचासको दशकदेखि कांग्रेस र तरुण दलसँग आबद्ध रहे पनि उनले २०७४ को चुनावमा राप्रपाबाट राजनीतिमा प्रवेश गरेका थिए। पछि कांग्रेससँग पुनः नजिकिएर १४औं जिल्ला अधिवेशनमा क्षेत्र नं. २ बाट सबैभन्दा बढी मत ल्याएर महासमिति सदस्यमा निर्वाचित भएका थिए।

पूर्वसभापति विकास लामासँग निकट रहेका गोर्खाली गठबन्धन नभएको भए प्रतिनिधिसभा-२ बाट उम्मेदवार हुने प्रबल दाबेदार मानिएका थिए।
राजनीतिसँगै उनको विगत विवादास्पद रहँदै आएको छ। २५ वर्षअघि दरबारमार्गको बेबिलोन डिस्कोमा राकेश लिम्बूको हत्या अभियोगमा उनी दोषी ठहर भई १० वर्ष जेल सजाय भुक्तान गरिसकेका छन्। त्यसयता पनि गुण्डागर्दी र असुली धन्दामा मुछिँदै आएका गोर्खालीले सिन्धुपाल्चोकमा कांग्रेस कार्यालय नजिकै घर र इन्द्रावती गाउँपालिकामा जग्गा खरिद गरी पार्टी गतिविधिमा लाखौं खर्च गरेका थिए।













