तातोपानी नाका हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको विद्युतीय चुरोट (भेप) को अर्बौं राजस्व छली आरोपमा शिल्क ग्रुप प्रालिका अध्यक्ष रमेश शेर्पा सहित १२ जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको छ ।
तातोपानी नाकाको आयात-निर्यातमा एकछत्र प्रभाव जमाउँदै आएको शिल्क ग्रुपविरुद्ध विभागले १ अर्ब ७४ करोड ६२ लाख ४७ हजार बिगो र कैद सजायको मागसहित मुद्दा दायर गरेको हो ।

भेप बरामदपछि राजश्व अनुसन्धानले ललितपुरको बालकुमारीमा रहेको शाखा कार्यालय र काठमाडौंको नक्सालस्थित कर्पोरेट कार्यालयमा छापा मारेको थियो । झण्डै साढे ५ महिनाको अनुसन्धान पछि शिल्कले भेपमात्रै नभई अन्य सामग्रीमा करोडौ राजश्व छलेको प्रमाण भेटिएकाले मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
सिल्कले भेप राख्न प्रयोग गरेको गोदामका सञ्चालक महेशप्रसाद पाठक र सिल्ककै कर्मचारी सन्तोष पराजुलीलाई मतियारका रुपमा मुख्य अभियुक्तभन्दा आधा सजाय माग गरिएको छ ।
सबै प्रतिवादी फरार रहेकाले उनीहरूको नाममा म्याद काट्ने तयारी भइरहेको जिल्ला अदालत ललितपुरका श्रेस्तेदार शैलेन्द्र खतिवडाले जानकारी दिए।














