सिन्धुपाल्चोक, बलेफी-५ ज्यामिरे — “प्राकृतिक संरक्षणको लागि वृक्षारोपण गरौँ” भन्ने मूल नारासहित ज्यामिरेमा वृक्षारोपण तथा फलफूलको बिरुवा वितरण कार्यक्रम सम्पन्न भएको छ। मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको ज्यामिरे शाखाको आयोजना तथा सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा पृथ्वीचोक पोखरा र अमेरिकन लाइफ इन्स्योरेन्स (MetLife) को सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो।
२०७९ सालमा सुरु भएको शाखाले यस वर्ष २०८२ मा आयोजना गरेको यस अभियानमार्फत स्थानीय समुदायमा वातावरण संरक्षण, हरियाली विस्तार र आत्मनिर्भर कृषि प्रवर्द्धनको सन्देश प्रवाह गरिएको छ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, पत्रकार, समाजसेवी, मातृभूमि लघुवित्तका अनुगमन प्रमुख, विभिन्न संघसंस्थाका सर/म्याम, विद्यार्थी, विभिन्न केन्द्रका सदस्य, साथै स्थानीय आमाबुबा, दाजुभाइ र दिदीबहिनीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।

कार्यक्रमका वक्ताहरूले जलवायु परिवर्तनको चुनौतीका बीच वृक्षारोपणलाई जीवनशैलीको हिस्सा बनाउनुपर्नेमा जोड दिँदै, फलफूलका बिरुवाले दीर्घकालीन रूपमा आर्थिक फाइदा र पारिस्थितिक सन्तुलन दुवै कायम गर्ने विश्वास व्यक्त गरे।
यस अवसरमा सहभागीहरूलाई विविध किसिमका फलफूलका बिरुवा वितरण गरिएको थियो। आयोजक संस्थाले आगामी वर्षहरूमा पनि यस्ता पर्यावरणमैत्री कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।













