काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु र चौतारा अस्पताल, सिन्धुपाल्चोकबीच स्याटेलाइट क्लिनिक सञ्चालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। साउन ९ गतेदेखि लागू हुने गरी भएको सम्झौताअनुसार चौतारामा विशेषज्ञ तथा आधारभूत स्वास्थ्य सेवा प्रदान गरिनेछ।
प्रत्येक महिनाको दोस्रो र चौथो आइतवार बालरोग, जनरल मेडिसिन, छाला तथा यौन रोग लगायतका सेवा उपलब्ध हुने छन्। टेकुले सेवा दिन आउनुपर्ने चिकित्सक तथा जनशक्तिको व्यवस्था गर्नेछ, साथै यातायात र खाजाको खर्च समेत व्यहोर्नेछ। यस्ता सेवा व्यवस्थापन गर्दा टेकुको नियमित सेवा नबिग्रिने गरी जनशक्ति परिचालन गरिने जनाइएको छ।

चौताराले क्लिनिक सञ्चालनका लागि आवश्यक समन्वय तथा वातावरण निर्माण गर्नुपर्नेछ। समझदारीमा टेकु अस्पतालका निर्देशक डा. युवनिधि बसौला र चौतारा अस्पतालका निमित्त मेसु डा. रुद्रमणि भण्डारीले हस्ताक्षर गरेका छन्।
सम्झौतामा डा. विमल चालिसे, विनय खड्का र केशवराज गिरीलगायतको रोहबर रहेको थियो। यस सहकार्यबाट दुर्गम भेगमा स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा गरिएको छ।













