सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–८ स्थित एक महत्वपूर्ण स्थानीय सडक अविरल वर्षाका कारण भासिँदा जनजीवन प्रभावित बनेको थियो। सडक भत्किएपछि स्थानीय बासिन्दा दैनिक आवतजावतमा समस्यामा परेका थिए। अवस्थाको गम्भीरता बुझेर वडाध्यक्ष रमेशकुमार श्रेष्ठ स्वयं स्थलगत निरीक्षणमा निस्कनु भएको छ।
वडाध्यक्ष श्रेष्ठले डोजर तथा प्राविधिक टोलीको तत्काल समन्वय गरी भासिएको सडक मर्मत कार्य सुरु गराएका थिए। स्थानीयहरूका अनुसार समस्या देखिएको केही घण्टामै उहाँ आफैँ घटनास्थलमा पुगेर मर्मतको कामलाई नेतृत्व दिनु भएको हो।

हाल सडक खण्डमा अस्थायी रुपमा सवारी आवतजावत सम्भव भएको र स्थायी पुनर्निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको वडाले जानकारी दिएको छ।
स्थानीय समस्याप्रति तुरुन्त प्रतिक्रिया जनाउँदै वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, “जनताको समस्या हेरेर बस्न मिल्दैन। नेतृत्व भनेको फिल्डमै गएर समाधान खोज्नु हो।” उहाँको तत्परताप्रति स्थानीयवासीहरूले खुसी व्यक्त गरेका छन्। जनताको पीडामा साथ दिँदै तत्काल समाधान खोजिएको भन्दै वडाध्यक्ष श्रेष्ठप्रति आभार व्यक्त गरिएको छ।













