प्रतिनिधि सभा क्षेत्र नं.१ र प्रदेश सभा बागमतीका सदस्यहरुकाे आयाेजनामा एस.इ.इ परीक्षा २०८१ मा उतिर्ण हुने क्षेत्र नं.१ का विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।
सिन्धुपाल्चोक जिल्लाभरका १५४ विद्यालयबाट ३ हजार १ सय ७० विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए। तीमध्ये १ हजार ९ सय ९१ जना विद्यार्थी ग्रेडेड (GPA प्राप्त) भएका थिए भने १ हजार १ सय ६९ जना ननग्रेडेड रहेका थिए।

प्रतिनिधिसभा क्षेत्र नं. १ मा मात्रै ८ सय ९५ जना विद्यार्थी ग्रेडेड भएका थिए। तीमध्ये उत्कृष्ट चारजिपिए (4.0 GPA) ल्याउन सफल विद्यार्थीहरूमा बालशिक्षा मावि खाडिचौरका स्मृति नेपाल, म्हेन्दो तामाङ र शुभेच्छा श्रेष्ठ, प्रगति अङ्ग्रेजी बोर्डिङ स्कुल मेलम्चीका प्रशान्त चालिसे, र ज्ञानमन्दिर नमुना माविकी रोजिना स्याङ्ताङ रहेका छन्।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य माधव सापकोटा, प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, अमृता नेपाल, बलेफी गाउँपालिका अध्यक्ष गंगबहादुर तामाङ, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्वो, लिसंखुपाखर गाउँपालिका अध्यक्ष राजु लामालगायत जनप्रतिनिधिहरूले विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिएका थिए।
समारोहमा वक्ताहरूले विद्यार्थीहरूको मेहनत, विद्यालयहरूको योगदान र अभिभावकहरूको सहकार्यप्रति आभार प्रकट गर्दै आगामी दिनमा झन राम्रो प्रदर्शन गर्न प्रेरणा दिएका थिए।













