सिन्धुपाल्चोक, मेलम्ची–कुन्ताबेशी सडकखण्डअन्तर्गत जीरो किलो नजिकै आज बिहान भएको एक भीषण सवारी दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। स्थानीय बासिन्दाले आक्रोशित हुँदै सडक अबरुद्ध गरेपछि स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी खटिएको छ।
दुर्घटनामा काभ्रेको मण्डनदेउपुर नगरपालिका–९ का ३२ वर्षीय बिनोद रम्तेलको मृत्यु भएको हो। बा ५४ प २६५४ नम्बरको मोटरसाइकलमा सवार रम्तेल अनियन्त्रित भई सडकमा लडेका थिए। त्यसक्रममा मेलम्चीतर्फ जाँदै गरेको बा ४ ख ७५४७ नम्बरको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको सिन्धुपाल्चोक प्रहरीले जानकारी दिएको छ।

दुर्घटनापछि स्थानीयवासीहरू आक्रोशित हुँदै जीरो किलो सडक पूर्णरूपमा अवरुद्ध गरे। झन्डै १५० जना स्थानीयको प्रदर्शनपछि सुरक्षा अवस्था तनावग्रस्त बनेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरी चौकी देउपुर, हिंगुवापाटी, पाँचखाल, जिल्ला प्रहरी कार्यालय काभ्रे तथा ईलाका प्रहरी कार्यालय बनेपाबाट गरी ४२ जना सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न टिपर ढाडखोलामा फेला परेको छ र हाल काभ्रे प्रहरीको नियन्त्रणमा राखिएको छ। तर, टिपर चालक जनक ढकाल भने फरार छन्। उनी काभ्रे मण्डनदेउपुर नगरपालिका–७ निवासी हुन्। उनको खोजीका लागि विशेष टोली परिचालन गरिएको काभ्रे प्रहरीले जनाएको छ।
हाल अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको छ। यस घटनाले सडक सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ भने स्थानीयले चालकलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्।













