गायिका एलिना चौहान गृहमन्त्री रमेश लेखकलाई भेटेका छन्।
मंगलबार सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर उनीहरूले सामाजिक सञ्जालमार्फत आफूहरूमाथि भइरहेको दुर्व्यवहारबारे ध्यानाकर्षण गराउँदै कानुनी कारबाहीका लागि सहयोग गर्न आग्रह गरेका हुन्।

भेटपछि कुरा गर्दै गायिका एलिनाले भनिन्, ‘हामीले भोगिरहेको समस्या सुनायौं, उहाँले सहयोग र साथका लागि तयार रहेको बताउनुभयो।’
एलिनाले सोमबार नेपाल प्रहरीको साइबर ब्युरो पुगेर सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने चार जनाविरूद्ध उजुरी दिएकी थिइन्।
उनीहरूलाई कानुनी कारबाहीका लागि कदम चाल्नमा गृहमन्त्रीले सहयोग गर्ने आश्वासन दिएको एलिनाले बताइन्।
‘पटक–पटक चरित्रहत्या गर्नेहरूविरूद्ध उजुरी दिइएको छ, उनीहरूलाई कानुनी कारबाही गरिनुपर्छ भन्ने कुरा राखेँ, यसमा उहाँले पूर्ण सहयोग गर्ने बताउनुभएको छ’।
गृहमन्त्रीसँगको भेटपछि उनले फेसबुकमा लेखेकी छन्, ‘यो कुनै रिस वा घृणाले होइन, आफ्नो अस्तित्वको सुरक्षा गर्ने अधिकारले उठाइएको कदम हो। यस विषयमा आवश्यक सहयोग प्रदान गर्नु भएकोमा माननीय गृहमन्त्री रमेश लेखकज्यूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु।’













