बलेफी- बलेफी गाउँपालिकाको १७ औँ गाउँसभा मंगलबार सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु. ५६ करोड ५९ लाख बराबरको बजेट पारित गर्नुका साथै विभिन्न महत्वपूर्ण प्रस्तावहरू सर्वसम्मतिले अनुमोदन गरेको छ।
गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले गाउँसभामा नीति तथा कार्यक्रमसहितको बजेट प्रस्तुत गर्दै गाउँको समग्र विकासमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि र सामाजिक समावेशीता केन्द्रित योजना अघि बढाइने जानकारी दिनुभयो।

बजेट विनियोजन
सभामा प्रस्तुत बजेटअनुसार:
-
चालू खर्चतर्फ रु. ३५ करोड १२ लाख १० हजार
-
पुँजीगत खर्चतर्फ रु. २१ करोड ४६ लाख ९० हजार विनियोजन गरिएको छ।
गाउँसभामा पारित ८ प्रमुख प्रस्तावहरू
१. न्यायिक समितिको प्रतिवेदन
२. विनियोजन विधेयक २०८२
३. वार्षिक नीति तथा कार्यक्रम २०८२/८३
४. वार्षिक बजेट तथा कार्यक्रम २०८२/८३
५. आर्थिक विधेयक २०८२
६. कर्मचारी व्यवस्थापन सम्बन्धी विशेष विधेयक
७. संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन
८. लेखा समितिको प्रतिवेदन
सभालाई सम्बोधन गर्दै अध्यक्ष तामाङले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने, योजना कार्यान्वयनमा पारदर्शिता कायम गर्ने र स्थानीय जनताको सक्रिय सहभागिता सुनिश्चित गर्दै विकासको गतिलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सभामा उपाध्यक्ष सरु लामा, सम्पूर्ण वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।













