सिन्धुपाल्चोक — बलेफी गाउँपालिकाले कृषकहरूको मागका आधारमा ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर (मिनी टिलर) वितरण कार्यक्रम सुरु गरेको छ। बलेफी स्थित बलेफि कवर्ड हलमा आयोजित एक कार्यक्रमका विच पालिका अध्यक्ष गंगा बहादुर तामाङको अध्यक्षता तथा उपाध्यक्ष सरु लामा तामाङको विशेष आतिथ्यमा कार्यक्रमको औपचारिक सुरुवात गरिएको हो।
कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कृषि शाखाका प्रतिनिधिहरू र स्थानीय कृषकहरूको उपस्थिति रहेको थियो। प्रारम्भमा वडा नं. ४ र ५ का करिब तीन दर्जन कृषकलाई टिलर वितरण गरिएको छ। गाउँपालिकाका अनुसार भोलिबाट अन्य वडाहरूमा पनि वितरण कार्य क्रमशः सञ्चालन हुनेछ।

अध्यक्ष गंगा बहादुर तामाङले कृषि यान्त्रिकरणमार्फत उत्पादनशीलता वृद्धि गर्न र कृषकलाई आधुनिक कृषिमा रूपान्तरण गर्न पालिकाले यस्ता कार्यक्रम अघि सारेको बताए। उनले भने, “हाम्रो लक्ष्य भनेको परम्परागत कृषि प्रणालीलाई सहज र लाभदायक बनाउन हो। कृषकको श्रम र समयको बचत गर्दै उत्पादन दोब्बर बनाउने योजनासहित यान्त्रिक साधन वितरण गर्दैछौं।”
यस वर्ष पालिकाले करिब २०० जना कृषकलाई हाते ट्र्याक्टर वितरण गर्ने लक्ष्य राखेको छ। कृषकको नाम दर्ता, छनोट प्रक्रिया र स्थानीयस्तरमा सिफारिसका आधारमा वितरण कार्य अघि बढाइएको कृषि शाखाले जनाएको छ।
उपाध्यक्ष सरु लामा तामाङले कृषकहरूलाई प्राविधिक तालिम र उपकरण प्रयोगमा दक्ष बनाउने कार्यक्रम पनि पालिकाले सञ्चालन गरिरहेको बताइन्। उनले वितरण हुने टिलरहरू कृषि उपज उत्पादनमा गुणस्तर र मात्रा वृद्धि गर्न टेवा पुर्याउने विश्वास व्यक्त गरिन्।
स्थानीय कृषकहरू यस्ता यान्त्रिक उपकरणले कृषि कार्य सहज हुने, समयको बचत हुने र लागत घट्ने भन्दै खुसी व्यक्त गरेका छन्। कार्यक्रमले पालिकाको कृषि विकास र आत्मनिर्भर अर्थतन्त्रतर्फको यात्रामा सकारात्मक सन्देश दिएको सहभागीहरूको भनाइ छ।














