बलेफी गाउँपालिका वडा नं. ८ ले आर्थिक वर्ष २०८१/८२ को बजेटबाट वडा भित्रका सबै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पोसाक वितरण गरेको छ। वडा अध्यक्ष रमेश कुमार श्रेष्ठका अनुसार वनसाँघु मावि, ड्यामसाइड, कालीदेवी आधारभूत विद्यालय बसेरी, र जनचेतना आधारभूत विद्यालय पहरीगाउँमा अध्ययनरत करिब २०० जना विद्यार्थीलाई पोसाक वितरण गरिएको हो।
पोसाक वितरण कार्यक्रम वडा अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि बलेफी गाउँपालिकाकी उपाध्यक्ष सरु लामा तामाङ थिइन्। कार्यक्रममा बोल्दै उपाध्यक्ष लामाले वडा नं. ८ ले पालिका भरिमै उदाहरणीय रचनात्मक कार्यक्रम गर्दै आएको बताउँदै वडा अध्यक्ष श्रेष्ठको कामको प्रशंसा गर्नु भयो। उहाँले शिक्षा क्षेत्रमा केन्द्रित हुँदै गरिएको पोसाक वितरणले विद्यार्थीको आत्मविश्वास र विद्यालयप्रतिको आकर्षण बढाउने विश्वास व्यक्त गर्नुभयो।

वडा अध्यक्ष श्रेष्ठले यस्ता रचनात्मक कार्यक्रम यसअघि पनि सञ्चालन गर्दै आएको उल्लेख गर्दै भविष्यमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनु भयो। उहाँले विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले पोसाक वितरण गरिएको जानकारी दिनुभयो।
कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीय प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। उनीहरूले वडा कार्यालयको यो पहलले विद्यार्थीको पठनपाठनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए।
वडाले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक क्षेत्रलाई प्राथमिकतामा राख्दै स्थानीय विकासका कार्यक्रम अघि बढाउने जनाएको छ।




















