सिन्धुपाल्चोक — बलेफी गाउँपालिका आजदेखि पूर्ण खोप पालिकाका रूपमा घोषणा गरिएको छ। गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङको अध्यक्षता र उपाध्यक्ष सरु लामा तामाङको विशेष आतिथ्यमा आयोजित विशेष कार्यक्रममा पूर्ण खोप घोषणा गरिएको हो।
कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थितिमा औपचारिक रूपमा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित भएको घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङले बताउनुभयो ।

गाउँपालिकाले नियमित खोप सेवाको पहुँच बिस्तार गर्दै आम नागरिकमा स्वास्थ्यप्रति सचेतना फैलाएकोमा यो उपलब्धि सम्भव भएको बताइएको छ।
कार्यक्रममा बोल्दै अध्यक्ष तामाङले बालबालिकालाई नियमित खोप सेवा पुर्याउन सम्पूर्ण स्वास्थ्यकर्मी, स्वयंसेविका र स्थानीयबासीको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। उपाध्यक्ष सरु लामा तामाङले पूर्ण खोप अभियानले गाउँपालिकामा बालस्वास्थ्यको सुधारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।














