काठमाडौं । गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावली एक महिनाका लागि स्थगित गरेसँगै देशभरका यातायात व्यवसायीहरूले घोषणा गरेका सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरका अनुसार, नियमावली फिर्ता हुने स्पष्ट संकेत पाएपछि व्यवसायीहरू हालका लागि आन्दोलनबाट पछि हटेका हुन्।

गण्डकी प्रदेश सरकारले सार्वजनिक यातायात क्षेत्रसँग समन्वय नगरी राइड सेयरिङसम्बन्धी नियमावली कार्यान्वयनमा ल्याएको भन्दै व्यवसायीहरू आन्दोलित भएका थिए। उनीहरूले देशभरको सडक सञ्जाल प्रभावित पार्दै सेवाहरू ठप्प बनाएका थिए, जसका कारण यात्रुहरू ठूलो सास्तीमा परेका थिए।
व्यवसायीहरूको कडा विरोधपछि संघीय सरकारको पहलमा सरोकारवाला पक्षबीच गएराति विस्तृत वार्ता भएको थियो। सहमतिको खाका आज साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत गण्डकी प्रदेश सरकारसमक्ष पठाइएपछि उक्त नियमावली एक महिनाका लागि स्थगित गरिएको हो।नियमावली स्थगित भएसँगै आजदेखि सार्वजनिक यातायात सेवा नियमित रूपमा सञ्चालन हुने व्यवसायीहरूले जनाएका छन्।













