काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले नेपालका प्रसिद्ध साहित्यकार, गायक एंव संगीतकार गणेश रसिकको निधनप्रति पशुपति आर्यघाटमै पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले रसिकको पार्थिव शरीरमा राष्ट्रिय झन्डा पनि ओडाए ।
मंगलबार उनको ७८ वर्षको उमेरमा मृत्यु भएको हो । उनले गणेश रसिक वास्तविक रुपमा नेपालको गायन,संगीत र साहित्य क्षेत्रको ज्ञानका रत्न नै रहेको बताए । नेपाली साहित्य, गायन एंव संगीतको विकासमा महत्वपूर्ण योगदानहरु गरेको पनि उनको भनाई छ ।

रसिकले क्षितिजलाई छुन खोज्दा (कथा संग्रह), एउटा सारङ्गी छुन खोज्दा (कथा संग्रह), रसिकका गीतहरू (गीत संग्रह) आकाश गंगाको ओतमुनी (उपन्यास), जब सिस्नुहरू टेक्दै हिँडे (संस्मरण), बिलाउँदै गएका गीत (कथा संग्रह), दशगजामा उभिएर हेर्दा उपन्यास, स्वाधिनताको पीडा (गीत संग्रह) पेरुङ्गो संस्करण (पाँच कृति) जस्ता महत्वपूर्ण साहित्यिक कृतिहरू रचना गरेका थिए ।
उनको निधनमा मुलुकले, नेपाली साहित्य, गायक एंव संगीतको क्षेत्रले र हामी सबैले एक मुर्धन्य प्राज्ञिक नक्षत्रलाई गुमाएको छ । यीनै कृतिहरूमा गणेश रसिक सदा सदा बाँची रहने पनि खनालको भनाई छ ।
नेपाल क्यान्सर अस्पताल, हरिसिद्दि, ललितपुरमा प्रोस्टेट क्यान्सरको उपचारको क्रममा रसिकको निधन भएको थियो । उनको अन्तिम संस्कार मंगलबार पशुपतिस्थित विद्युतीय शवगृहमा गरिएको छ ।
रसिकले श्री रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक (२०३८–२०४०), सांस्कृतिक संस्थानको महाप्रबन्धक (२०४०–२०४६), साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक (२०५२–२०५५) नेपाल संगीत तथा नाट्या प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव लगायत उच्च जिम्मेवारी सम्हालेका थिए ।
पूर्वी नेपालको टेम्केमैयुङ गाँउपालिका वडा नं.२ छिनामखुको नौलागाँउ भोजपुरमा बाबु नरोत्तम राई र आमा रत्नमाया राईको कोखबाट २००४ साल अशोज ४ गते जन्मिएका उनी पछिल्लो समय इलामको सूर्योदय नगरपालिका फिक्कल रम्फोकमा बस्दै आएका थिए ।
उनका एक छोरा, एक छोरी, एक बुहारी, एक नाती, एक नातीनि रहेका छन । छोरा निमेश रसिकको २०६७ सालमा निधन भइसकेको छ भने श्रीमती निरा रसिक राईको कोरोना सक्रमण बाट २०७८ सालमा निधन भएको हो ।













