सिन्धुपाल्चोक, जेठ १९ – बाढी, पहिरो र प्राकृतिक विपद् बाट बारम्बार मारमा पर्दै आएको बलेफी गाउँपालिका–८ ले यस वर्षको मनसुन सुरु हुनुअघि नै सक्रिय पहल थालेको छ। वर्षायाममा सम्भावित विपद्का जोखिम न्यूनीकरण गर्न वडाले ‘विपद् प्रतिकार्य समिति’ गठन गरेको छ भने विभिन्न आवश्यक सामग्रीहरूको तयारीसमेत थालिएको छ।
वडाध्यक्ष रमेश कुमार श्रेष्ठको नेतृत्वमा गठित सो समितिमा बलेफी गाउँपालिकाका विपत् व्यवस्थापन शाखाका प्रमुख सुकलाल तामाङ, सशस्त्र प्रहरी बलका प्रमुख जगत दुवाल , नेपाल प्रहरी, स्थानीय स्वास्थ्य संस्था, स्थानीयवासी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको छ। साथै, वडामा विपद् सूचक तयार पार्न २५ जना स्थानीयको समेत समावेश गरिएको छ।

२०७१ सालको जुरे पहिरोले सोही वडामा १५६ जनाको ज्यान लिएको थियो भने सयौं घर पुरिएका थिए। सामुदायिक विद्यालय, रिसोर्ट, सार्वजनिक संरचना समेत पहिरोले बगाएको त्यो त्रासदी आजसम्म पनि बलेफीका बासिन्दाको स्मृतिमा ताजै छ। त्यसैगरी, २०७२ को विनाशकारी भूकम्पले सयौं घरहरू ध्वस्त पार्दा वडामा फेरि ठूलो क्षति व्यहोर्नुपरेको थियो।
पछिल्ला ती दुःखद घटनाबाट सिक्दै, यस वर्षदेखि मनसुनजन्य विपद् रोकथाम र प्रतिकार्यका लागि अग्रिम तयारी थालिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो। वडाले हालसम्म हेलमेट, डोरी, ओकेटोके सेट, क्यारेबिन, माइकिङ सेट लगायतका प्राथमिक सामग्री संकलन गरिसकेको छ। थप रूपमा ठूला टर्चलाइट, सावेल, पिक, त्रिपाल, टेन्ट, जस्तापाता र मेसिनरी आरा लगायतका उपकरणका लागि गाउँपालिकासँग माग गरिएको छ।
वडाध्यक्ष रमेश कुमार श्रेष्ठको अनुशार विपद्को बेला तत्काल सहयोगका लागि वडाले स्थानीय निर्माण कम्पनीहरूसँग समन्वय गरी हेवी इक्विपमेन्ट तथा मेसिनहरू समेत तयारी अवस्थामा राख्ने योजना बनाएको छ। यो पहलले आकस्मिक अवस्थामा उद्धार कार्यमा समयमै प्रभावकारी सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यो प्रयास सिन्धुपाल्चोक जिल्लामै पहिलोपटक वडा तहबाट सुरु भएको हो। वडाध्यक्ष श्रेष्ठका अनुसार, “विगतको २०७१ सालको जुरे पहिरो, २०७२ को विनाशकारी भूकम्प लगायत त्यस भन्दा अगाडी देखिको पीडाबाट सिकेर अहिले नै पूर्वतयारीमा लाग्नु अत्यन्त जरुरी छ। यो समिति केवल दस्तावेज होइन, कार्यान्वयनमै आधारित छ उनले भने।”














