सिन्धुपाल्चोक – बलेफी गाउँपालिकाको प्रमुख सडक कोठे–विञ्जेल–धुस्कोट खण्ड कालोपत्रे हुने भएको छ। संघीय समपुरक बजेट अन्तर्गत उक्त सडकका लागि २ करोड ५० लाख रुपैयाँ विनियोजन भएपछि गाउँपालिकाले थप २ करोड ५० लाख बराबरको बजेट मिलाएर कुल ५ करोडको आयोजना अघि बढाउन लागेको हो।
आगामी आर्थिक वर्ष २०८२/०८३ मै धुस्कोटसम्म सडक कालोपत्रे गर्ने लक्ष्य लिइएको गाउँपालिका अध्यक्ष गङ्गा बहादुर तामाङले जानकारी दिए। उपाध्यक्ष सरु लामा तामाङसहितको कार्यपालिकाको निर्णयपछि संघीय सांसद माधव सापकोटा (सुबोध) को सक्रिय पहलमा योजना आयोगबाट बजेट सुनिश्चित भएको हो।

यसका साथै, ज्यामिरे–देउराली–अदामारा सडक निर्माणका लागि पनि १ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ। शिक्षा क्षेत्रको सुदृढीकरणका लागि विशेष अनुदानमार्फत ‘शैक्षिक गुणस्तर सुदृढीकरण, विद्यालय कार्य सम्पादन तथा शिक्षक क्षमता विकास कार्यक्रम’ अन्तर्गत १ करोड ३० लाख रुपैयाँ छुट्याइएको छ।
यी योजनाहरूले पूर्वाधार र शिक्षा दुवै क्षेत्रमा बलेफी गाउँपालिकालाई दीर्घकालीन रूपमा लाभ पुर्याउने अपेक्षा गरिएको छ।















