सार्वजनिक यातायात क्षेत्रका व्यवसायीहरूले ७ बुँदे मागसहित सशक्त आन्दोलनको घोषणा गरेका छन्। नेपालका प्रमुख यातायात व्यवसायी र श्रमिक संगठनहरूले संयुक्त रुपमा ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ गठन गर्दै आन्दोलनका चरणबद्ध कार्यक्रम सार्वजनिक गरेका हुन्।
नेपाल यातायात व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले सोमबार संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी सरकारले आफ्नो माग प्रति बेवास्ता गरेको भन्दै आन्दोलनमा उत्रनु परेको स्पष्ट पारे।

‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ गठन गरी सबै मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, जेठ १४ मा मुख्यमन्त्रीलाई मागपत्र दिने, १८ गते कालो झन्डासहित विरोध गर्ने र १९ गतेदेखि देशभर सवारी साधन थन्क्याएर अनिश्चितकालीन बन्द गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ।
व्यवसायीका अनुसार १३ खर्ब लगानी जोखिममा परेको र १५ लाख रोजगारीमा असर परेको छ। आन्दोलनमा विभिन्न व्यवसायी तथा मजदुर संगठनहरू एकताबद्ध छन्।
















