पोखरा-गण्डकी प्रदेश सरकारले हालै जारी गरेको सवारी तथा यातायात व्यवस्था सम्बन्धी नियमावलीप्रति गम्भीर आपत्ति जनाउँदै अखिल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष दीपक केसीले कडा चेतावनी दिएका छन्। सरकारले निजी यात्रुबाहक सवारी साधनलाई सार्वजनिक सवारीसरह यात्रु ओसारपसार गर्न अनुमति दिने निर्णयको विरोधमा संघले आन्दोलनको तयारी थालेको छ।
अध्यक्ष केसीले शनिवार पोखरामा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोलेका थिए, “यदि सरकारले जेठ १५ भित्र यो निर्णय फिर्ता लिँदैन भने हामी सम्पूर्ण सार्वजनिक सवारी साधनहरू ग्यारेज र डेरामै थन्क्याउनेछौँ।” उनले प्रदेश सरकारले सार्वजनिक यातायात क्षेत्रको आत्मा नै समाप्त पार्ने प्रयास गरिरहेको आरोप लगाए।

उनले थपे, “हामीले जनताको सेवामा समर्पित सार्वजनिक यातायात क्षेत्रको संरक्षण र यातायात मजदुरहरूको अधिकारका लागि विगतदेखि संघर्ष गर्दै आएका छौं। तर अहिले सरकारले निजी सवारीलाई सार्वजनिक सरह यात्रु बोक्न दिने निर्णय गरेर सिंगो सार्वजनिक यातायात प्रणालीलाई धराशायी बनाउन खोजेको छ।”
संघका प्रदेशस्तरीय नेताहरू, विभिन्न यातायात व्यवसायी संगठन र मजदुर संगठनले संयुक्तरूपमा निर्णय गर्दै आन्दोलनको घोषणा गरेका छन्। उनका अनुसार सवारी साधन ग्यारेजमै थन्क्याउने निर्णय कुनै सामान्य विरोध नभई, सरकारको निर्णयविरुद्धको निर्णायक कदम हो।
यसैबीच, यातायात व्यवसायीहरूले नियमावली तत्काल खारेज गर्न माग गरेका छन् भने अन्यथा अनिश्चितकालीन आन्दोलनको घोषणा गर्ने चेतावनी दिएका छन्। गण्डकी प्रदेशको सडक यातायात पूर्ण रूपमा अवरुद्ध हुने सम्भावनाले यात्रुहरूमा समेत चिन्ता बढेको छ।













