सुदूरपश्चिमको बैतडी जिल्ला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंका अनुसार भूकम्पको तीव्रता ५.१ म्याग्निच्युड मापन गरिएको छ।
भूकम्प बिहान १ बजेर ४८ मिनेट जाँदा महसुस गरिएको थियो। विशेषगरी बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर गएको यो भूकम्पले मध्यरातमा गहिरो निद्रामा रहेका स्थानीयवासीलाई हल्लाएको थियो।

अचानक आएको कम्पनले धेरै मानिस त्रसित बनेका थिए भने केही स्थानमा मानिसहरु घरबाहिर निस्किएका थिए। हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण आइनसकेको भूकम्प केन्द्रले जनाएको छ।
भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका केही अन्य जिल्लामा पनि महसुस गरिएको जनाइएको छ। सम्बन्धित निकायहरूले क्षतिको विवरण संकलन गरिरहेको र आवश्यक सुरक्षात्मक उपाय अपनाउन आग्रह गरिएको छ।













