सिन्धुपाल्चोक – बलेफी गाउँपालिका–५ स्थित बिन्जेल लामाटोलमा निर्माण गरिएको मानेडाँडा संरक्षण तथा बुद्ध पार्क सम्पन्न भएको छ। स्थानीय धार्मिक, पर्यटकीय र सांस्कृतिक महत्व बोकेको यस क्षेत्रको संरक्षण तथा प्रवर्द्धन गर्न उद्देश्यले पार्क निर्माण गरिएको हो।
उक्त परियोजनाका लागि बलेफी गाउँपालिकाबाट ५ लाख ५० हजार रुपैयाँ र बागमती प्रदेश सरकारबाट १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। स्थानीय सरकार र प्रदेश सरकारको समन्वयमा निर्माण सम्पन्न भएको पार्कले अब धार्मिक पर्यटकहरूलाई आकर्षण गर्ने विश्वास लिइएको छ।

यस कार्यमा सक्रिय भूमिका निर्वाह गर्नुभएका बागमती प्रदेश सभा सदस्यहरू सरलसहयात्री पौडेल र अमृता नेपाल, साथै बलेफी गाउँपालिका अध्यक्ष गङ्गाबहादुर तामाङलाई स्थानीयवासीहरूले आभार व्यक्त गरेका छन्।
पार्कको निर्माणले मानेडाँडा क्षेत्रको ऐतिहासिक र धार्मिक मूल्य उजागर गर्नुका साथै युवापुस्तामा सांस्कृतिक चेतना फैलाउने अपेक्षा गरिएको छ। साथै, यसले गाउँमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न मद्दत पुर्याउने स्थानीय नेताहरूको विश्वास छ।














