सिन्धुपाल्चोक-बलेफी गाउँपालिका–४ मा पर्ने विकट दलित बस्ती रोक्का टोलका बासिन्दाको वर्षौँदेखिको प्यास मेटिएको छ। ‘एक घर, एक धारा’ अवधारणा अन्तर्गत घर–घरमा स्वच्छ खानेपानी पु-याइएपछि स्थानीयहरू उत्साहित भएका छन्।
कुल १५ लाख दुई हजार ४७ रुपियाँको लागतमा सम्पन्न यस परियोजनामा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकबाट आठ लाख २७ हजार ३५०, बलेफी गाउँपालिकाबाट पाँच लाख ५१ हजार ५६७, र उपभोक्ताबाट एक लाख ६४ हजार ४७६ रुपियाँ बराबरको श्रमदान गरिएको हो।

२९ घरधुरी रहेको रोक्का टोलमा प्रत्येक घरमा छुट्टाछुट्टै धारा निर्माण गरिँदा स्थानीयको दैनिकी सहज भएको छ। बलेफी गाउँपालिका अध्यक्ष गङ्गाबहादुर तामाङले यो काम आफ्नो चुनावी प्रतिबद्धताको निरन्तरता भएको बताउँदै अन्य वडाहरूमा पनि यस्तै सुविधा विस्तार गर्ने योजना रहेको उल्लेख गर्नुभयो।
२०७८ कात्तिक ९ गते सुरु गरिएको यो आयोजना २०८२ वैशाख २० मा पूरा भएको हो। पहिलेका ढुङ्गेधारा र इनारहरू भूकम्पपछि सुक्दै जाँदा बस्तीले पानीको चरम अभाव झेलेको थियो। तर अब सरसफाइ, पशुपालन, तरकारी खेतीदेखि दैनिक उपभोगसम्म सबैका लागि पानी सहज रूपमा उपलब्ध छ।













