सिन्धुपाल्चोक- लिसंखुपाखर गाउँपालिका–१, निङ्गाले बागखोर स्थित मुडे–मेलुङ सडकखण्डमा शुक्रवार साँझ ५ बजे यात्रुबाहक बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
दोलखाबाट काठमाडौं जाँदै गरेको बा.प्र.०१–००६ ख ५९३४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ७० प ८२३८ नम्बरको मोटरसाइकल ठोक्किँदा दोलखा मेलुङ गाउँपालिका–३ का २३ वर्षीय सुरेश रसाइली गम्भीर घाइते भएका थिए। खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा उपचारका क्रममा उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा संलग्न बस चालक दोलखा कालिन्चोक गाउँपालिका–६ का २३ वर्षीय माधव बहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलमा प्रहरी चौकी मुडे, बलेफी, इलाका प्रहरी कार्यालय बाह्रबिसे र ट्राफिक प्रहरीसहित २० जना सुरक्षाकर्मी परिचालन गरिएको थियो।
प्रहरीका अनुसार दुर्घटनापछि सवारी आवागमन सामान्य अवस्थामा फर्किएको छ भने बसलाई प्रहरी चौकी लामोसाँघुमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले थप अनुसन्धान अघि बढाएको छ।













