काठमाडौं –परोपकारस्थित पुलमुनी धारिलो हतियार प्रहारबाट घाइते भएका काभ्रेका विक्रम तामाङको मृत्यु भएपछि घटनामा संलग्न आशिष श्रेष्ठ पक्राउ परेका छन्।
वैशाख १६ गते बिहान साढे ११ बजे काठमाडौंको परोपकार क्षेत्रको पुलमुनी विक्रम तामाङ (४२), स्थायी ठेगाना काभ्रे भुम्लु गाउँपालिका–१०, गम्भीर घाइते अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको भए पनि उपचारकै क्रममा साढे १२ बजे उनको मृत्यु भयो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्राविधिक अनुसन्धान र बयानको आधारमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–७ का ३२ वर्षीय आशिष श्रेष्ठलाई डल्लुबाट पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धान अनुसार, श्रेष्ठ र तामाङबीच गाली–गलौजको विषयमा विवाद भएको र त्यसकै कारण झडपमा तामाङमाथि बारम्बार चक्कु प्रहार गरिएको खुलेको छ।
पक्राउ परेका श्रेष्ठले प्रहरीसमक्ष “पुलमुनी पिसाब गर्दा गाली गरिरहन्थ्यो, त्यस दिन भेट्दा हानेर भागेँ” भनेर बयान दिएका छन्। घटनामा प्रयोग भएको चक्कु, लुगा र मोबाइल पनि प्रहरीले बरामद गरेको छ।
हाल श्रेष्ठमाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।













